जनकपुर–अयोध्या रेल सेवाको टिकट बुकिङ खुला

बिर्तामोड, ११ मंसिर । 
 जनकपुरधाम र भारतको अयोध्यालाई जोड्ने रेलको टिकट बुकिङ खुला भएको छ । रेलको भाडादर न्यूनतम ५८४ रुपैयाँदेखि २ हजार १७६ रुपैयाँ तोकिएको छ । भारतीय रेल्वेले भोलिदेखि व्यावसायिक रुपमा सञ्चालन गर्ने तयारीसहित टिकट बुकिङ खुला गरेको हो । प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गएको सोमवार सेवा शुभारम्भ गर्नुभएको थियो । हप्तामा एक दिन सञ्चालन हुने रेल हरेक शनिवार जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गर्नेछ भने सोमवार अयोध्याबाट जनकपुरधाम फर्किनेछ । झण्डै ६०४ किलोमिटर दूरी तय गर्ने रेलले नेपालका साथै भारतको बिहार र उत्तर प्रदेशका विभिन्न क्षेत्रलाई जोड्नेछ । भारतीय रेल्वेले निर्धारण गरेको भाडादरअनुसार शयनयान (स्लिपर) श्रेणीको टिकट ३६५ भारतीय रुपैयाँ अर्थात् नेपाली ५८४ रुपैयाँ पर्नेछ । त्यस्तै, इकोनोमी श्रेणीको भाडा ८८५ भारतीय रुपैयाँ, तृतीय श्रेणीको ९६५ रुपैयाँ र द्वितीय श्रेणीको १ हजार ३६० भारतीय रुपैयाँ तोकिएको छ । नेपाल रेल्वे कम्पनीका अनुसार नेपाली यात्रुले भारतीय रुपैयाँमा निर्धारण गरिएको भाडा बराबरको रकम नेपाली रुपैयाँमा तिर्नुपर्नेछ । उत्तर प्रदेशका मनकापुर, बस्ती र गोरखपुर तथा बिहारका नरकटियागञ्ज, रक्सौल, सीतामढी, शीशो, मधुबनी र जयनगरलगायतका स्टेसनमा रोकिनेछ । यात्रुहरूले भारतीय रेल्वेको आईआरसीटीसी वेबसाइट तथा मोबाइल एप, आधिकारिक अनलाइन टिकटिङ एजेन्ट र नेपालका अधिकृत सेवा एजेन्टमार्फत टिकट बुकिङ गर्न सक्नेछन् । यात्राका क्रममा यात्रुले आफ्नो नागरिकता वा मान्य परिचयपत्र साथमा राख्नुपर्नेछ । रेल सेवा सञ्चालनले धार्मिक पर्यटन प्रवद्र्धन गर्नुका साथै रामायण सर्किटलाई थप विस्तार गर्ने अपेक्षा छ । 

प्रतिकृया दिनुहोस