नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

\बिर्तामोड, १० साउन ।
एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिता  खेल्न श्रीलङ्का पुगेको नेपाली राष्ट्रिय महिला टोली आज स्वदेश फर्किएको छ । 
श्रीलङ्कामा जारी एसिसी महिला ट्वान्टी–२० एसिया कप प्रतियोगितामा तेस्रो पटक सहभागिता जनाएको नेपाल समूह चरणबाट बाहिरिएपछि आज स्वदेश फर्किएको हो । यसअघि नेपालले सन् २०१२ र २०१६ को एसिया कपमा सहभागिता जनाएको थियो । त्यतिबेला पनि नेपालले जित हासिल गर्न सकेको थिएन । 
यसपटक नेपालले खेलेको तीन खेलमध्ये एक खेलमा जित र दुई खेलमा पराजय भोगेको छ । पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले हराएको थियो । एसिया कपको इतिहासमा नेपालको यो पहिलो जित हो । त्यस्तै नेपाल पाकिस्तानसँगको दोस्रो खेलमा नौ विकेटले पराजित भयो । तेस्रो खेलमा भारतसँग ८२ रनको हार ब्यहोरेको थियो । 
यसैबीच,  
नेपाली महिला टोलीकी कप्तान इन्दु बर्माले एसिया कपबाट आफ्नो टोलीले ठूलो प्लेटफर्ममा खेल्न सक्छौं भन्ने सन्देश दिएको बताउनुभएको छ ।
आज स्वदेश फिर्ता भएपछि उहाँले भन्नुभयो, ‘टुर्नामेन्ट सुखद र रोमाञ्चक भयो । यति ठूलो प्लेटफर्ममा खेल्न पाउनु नै ठूला कुरा थियो । हामीले खेल्न सक्छौं भन्ने सन्देश गएको छ । टेस्ट नेसनहरुलाई फाइट दिँदा चैँ हामीले पोटेन्सीयल देखाउन सक्यौं जस्तो लाग्छ ।’
युएईसँग भने कसरी हुन्छ जित चाहिन्छ भन्ने रहेको उहाँले बताउनुभयो । त्यसपछि पाकिस्तानलाई कडा फाइट दिने रणनीति बनाएर सक्दो प्रयास गरेको उहाँको भनाइ थियो । ‘धेरै वर्षपछि हामीले युएईलाई बिट गर्न सक्यौं ।  बेस्ट मोमेन्ट त्यही हो जस्तो लाग्छ । भारतीय खेलाडीहरूसँग कसरी प्रेसर ह्यान्डल गर्ने, फिटनेस कसरी मेन्टेन गर्ने भनेर कुराकानी गरें,’ उहाँले भन्नुभयो ।
उहाँले टोलीमा धेरै कमजोरीहरू रहेको स्वीकार गर्नुभयो । ‘हामीले सुधार गर्नुपर्ने चिज धेरै छ । बलिङ, ब्याटिङ, फिल्डिङमा सबै पक्षमा सुधार गर्नुपर्ने छ । हामीले अझै मिहिनेत गरेर सुधार गर्दै गयौं भने ठूला टिमलाई बिट गर्न सक्छौं,’ उहाँले भन्नुभयो ।
फ्लड लाइटमा खेल्दा त्यस्तो फरक नपरेको र यसलाई एक्स्क्युज बनाउन नचाहेको उहाँले बताउनुभयो । ‘ट्वान्टी–२० गेमको बेलामा प्रेस हुन्छ । फ्लड लाइटले ठूलो फरक पर्दैन,’ उहाँले भन्नुभयो ।  ०००००००

 

प्रतिकृया दिनुहोस