भारत–पाकिस्तानलाई संयमका लागि धन्यवाद : प्रधानमन्त्री

लुम्बिनी, २९ वैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानलाई संयम अपनाएकोमा धन्यवाद व्यक्त गर्नुभएको छ । आज लुम्बिनीमा आयोजित बुद्ध जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही दिनअघि भारत–पाकिस्तानबीच भएको तनाव लडाइँमा परिणत नहुनु सकारात्मक पक्ष भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “झण्डै झण्डै केही दिन अगाडि हाम्रै छिमेक भारत र पाकिस्तानको अलिकति हात हालाहाल भएको थियो, तर बढ्न पाएन । संयमका लागि धन्यवाद छ । हामीले सुरुदेखि भन्यौं, विस्तार हुन नपाओस् ।”
उहाँले दुबै देशसँग संवाद भएको उल्लेख गर्दै, लडाइँ हुन नदिने प्रतिबद्धता दुबैतर्फबाट आएको जानकारी दिनुभयो ।
बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले बुद्धका उपदेश र शिक्षालाई आजको सन्दर्भमा पनि अत्यन्तै सान्दर्भिक र महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले शान्ति, करुणा र मानवतावादका उपदेशलाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो ।
“बुद्धका शान्तिको सन्देशहरूको अर्थ अहिले पनि छ, व्यक्तिको मनस्थितिबाट लिएर समाज, राष्ट्र र विश्व शान्तिका लागि बुद्धका सन्देश उपयोगी छन्,” उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले विश्वभर विनाशकारी हतियारहरू निर्माण भइरहेका बेला शान्तिको मार्ग अँगाल्नुपर्ने बताउँदै, मानव अस्तित्वकै लागि यो खतरनाक दिशामा जाँदै गरेको चेतावनी दिनुभयो ।
त्यस्तै, उहाँले थेरवाद, महायान र वज्रयानजस्ता सम्प्रदायबीच सानातिना भिन्नता भए पनि सबैको मूलमा बुद्धका शान्ति र करुणाका उपदेश रहेको स्मरण गराउनुभयो ।
“मुख्य कुरा बुद्धका उपदेशहरू हुन्, फरक–फरक यानहरू होइनन्,” उहाँले स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले लुम्बिनी गुरुयोजना अनुसारका कामहरू सकेसम्म छिटो सम्पन्न गर्न सरकारले तिव्रता दिएको जानकारीसमेत दिनुभयो । ००००००
प्रतिकृया दिनुहोस