अधिकांश सामाजिक सञ्जालले नेपालमा सूचीकरण हुन अटेर गरे  

विर्तामोड, २९ वैशाख ।
सरकारले पटक–पटक आग्रह गर्दा पनि अधिकांश सामाजिक सञ्जालले नेपालमा सूचीकरण हुन अटेर गरिरहेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार हालसम्म नेपालमा सञ्चालित ४० भन्दा बढी सामाजिक सञ्जालमध्ये भाइबर, विइटक, टिकटक र निम्बज मात्रै सूचीकृत भएका छन् । मेटा कम्पनी अन्तर्गत सञ्चालित फेसबुक, इन्स्टाग्राम, थ्रेड्स, साथै एक्स, स्न्यापच्याट, युट्युब, लिङ्कडइन, टेलिग्राम, रेÞडिट, लाइन, ग्रेटरजस्ता चर्चित सामाजिक सञ्जालले मन्त्रालयको निर्देशनको पालना गरेका छैनन् ।
मन्त्रालयले २०८० साल मंसिर १५ गते सामाजिक सञ्जाल प्लेटफर्म नेपालमा सञ्चालन गर्न इच्छुक व्यक्ति, संस्था वा कम्पनीले तीन महिनाभित्र सूचीकरण हुनुपर्ने सूचना प्रकाशन गरेको थियो ।
त्यसअनुसार सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन निगरानी गर्ने प्रतिनिधि तोक्नुपर्ने व्यवस्था गरिएको थियो । तर, बहुसंख्या सामाजिक सञ्जालले यो निर्देशन बेवास्ता गरेका छन् ।
सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले सामाजिक सञ्जालले अझै पनि सूचीकरण प्रक्रिया पुरा नगरेको र अब कानुनबमोजिमको प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो ।
उनले सामाजिक सञ्जालको प्रयोग स्वतन्त्रताको विषयसँग पनि जोडिएको हुँदा तत्काल बन्द गर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।
सरकारको अपेक्षा सामाजिक सञ्जाल प्रयोगकर्ताले निर्बाध रूपमा प्रयोग गर्न पाउन् र प्लेटफर्म सञ्चालकले कानुनबमोजिम जिम्मेवारी वहन गरून् भन्ने रहेको मन्त्रालयले जनाएको छ । ००००००
 

प्रतिकृया दिनुहोस