चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ प्रस्थान
चीन, ३१ साउन ।
चिनियाँ कन्टेनर जहाज आर्कटिक समुद्री मार्ग हुँदै युरोपतर्फ प्रस्थान गरेको छ । नयाँ साप्ताहिक सेवाअन्तर्गत सञ्चालन हुने यो मार्गले चीनबाट युरोपसम्मको समुद्री ढुवानी समय करिब आधा घटाउने अपेक्षा गरिएको छ ।
‘दुबई टावर’ नामक कन्टेनर जहाज चीनको पूर्वी बन्दरगाह सहर निङ्बोबाट शनिबार साँझ उत्तरी दिशातर्फ प्रस्थान गरेको हो । जहाज बेरिङ जलमार्ग हुँदै रुसको उत्तरी तटसँगैको आर्कटिक मार्गबाट युरोप पुग्नेछ ।
समयतालिका अनुसार जहाज सेप्टेम्बर ७ मा बेलायतको फेलिक्सस्टो पुग्नेछ । त्यसपछि जर्मनीको ह्याम्बर्ग र पोल्याण्डको ग्दान्स्कमा रोकिनेछ ।
आर्कटिकको उत्तरी समुद्री मार्ग स्वेज नहर हुँदै जाने परम्परागत मार्गभन्दा छोटो छ । यसले लालसागरको जोखिमयुक्त क्षेत्रबाट जहाज सञ्चालन गर्नुपर्ने बाध्यता पनि घटाउनेछ ।
तर, वातावरणीय समूहहरूले आर्कटिक क्षेत्रमा जहाजको आवागमन बढ्दा समुद्री बरफमा थप दबाब पर्ने चेतावनी दिएका छन् । जलवायु परिवर्तनका कारण आर्कटिकको बरफ यसअघि नै तीव्र रूपमा घटिरहेको उनीहरूको भनाइ छ ।
विश्लेषकहरूले भने आर्कटिक मार्गलाई भविष्यमा महत्वपूर्ण विश्व व्यापार मार्गका रूपमा विकास गर्न सकिने बताएका छन् । चीनले समेत ‘पोलर सिल्क रोड’ अवधारणामार्फत आर्कटिक क्षेत्रमा व्यापारिक पहुँच विस्तार गर्ने योजना अघि बढाएको छ । ०००००












प्रतिकृया दिनुहोस