पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौँ, ३ भदौ ।
देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भूभागका धेरै स्थानमा तथा तराईका केही क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हुरीबताससमेत चल्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज राति पनि हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ । केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
भारी वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुनुका साथै पहिरो र बाढीको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । ००००










प्रतिकृया दिनुहोस