झापामा साउनमा विपद्का २५ घटना, ३४ लाख रुपैयाँको क्षति
भद्रपुर (झापा), ४ भदौ ।
झापामा गत साउनमा बाढी, पहिरो, आगलागी, चट्याङ तथा जङ्गली जनावरको आक्रमण लगायत २५ वटा विपद्का घटना भएका छन् । ती घटनाका कारण ३४ लाख २४ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रञ्जन अवालेका अनुसार साउनभर भएका विभिन्न विपद्का घटनामा परी दुई जना घाइते भएका छन् भने तीन जनाको सकुशल उद्धार गरेको छ ।
प्रहरीका अनुसार सबैभन्दा बढी आगलागीका घटना भएका छन् । विभिन्न स्थानमा भएका पाँचवटा आगलागीका कारण १९ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । त्यसैगरी, जङ्गली जनावरको आक्रमणका १७ वटा घटना दर्ता भएका छन् । आक्रमणबाट दुई जना घाइते भएका छन् ।
यस्तै, चट्याङका घटनामा परी पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक अवालेले मनसुनजन्य तथा अन्य प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै जिल्लाभर प्रहरी जनशक्तिलाई उच्च सतर्क अवस्थामा राखिएको बताउनुभयो । ०००००










प्रतिकृया दिनुहोस