चितवनमा एक वर्षमा ४५ अजिङ्गरको उद्धार

चितवन, ३ भदौ । 
चितवन डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा बस्ती तथा विभिन्न क्षेत्रमा पसेका ६९ वटा वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरेको छ । उद्धार गरिएका वन्यजन्तुमध्ये सबैभन्दा धेरै ४५ वटा अजिङ्गर रहेका छन् ।
डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार स्थानीय बस्तीमा पसेर समस्या सिर्जना गरेका अजिङ्गरसहित चार चित्तल, तीन रतुवा, तीन धामन सर्प, दुई गोही, दुई मयुर र दुई लाटोकोसेरोको उद्धार गरिएको छ । यस्तै बाँदर, नियाले बाघ, जरायो, मलसाप्रो, चितुवा, गोहोर, कछुवा र हुच्चिल एक–एकवटाको उद्धार गरी व्यवस्थापन गरिएको छ ।
यसैगरी, गत आर्थिक वर्षमा ४२ वटा मृत वन्यजन्तुको समेत व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ । तीमध्ये ३० चित्तल, नौ रतुवा, दुई बँदेल र एक स्याल रहेका छन् ।
डिभिजन वन कार्यालयले अवैध काठ तस्करीमा प्रयोग भएका २६७ साइकल लिलामी गरी दुई लाख ५२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा कसुरजन्य मुद्दामा नियन्त्रणमा लिइएका तथा बेवारिसे अवस्थामा भेटिएका ८१ मोटरसाइकल लिलामी गर्ने तयारी गरिएको छ ।
मोटरसाइकलसँगै २५ वटा बस, ट्रक, भ्यान, अटो तथा ट्याक्टर र ५९ साइकलको समेत लिलामी प्रक्रिया अघि बढाइएको कार्यालय प्रमुख आचार्यले जानकारी दिनुभयो । ०००००
 

प्रतिकृया दिनुहोस