सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको दाबी, बदर गर्न माग
भक्तपुर, ३ भदौ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–१, साविक दुवाकोट गाविस–८ (ख) मा रहेको करिब १६ रोपनी सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएको दाबी गर्दै दर्ता बदर गर्न माग गरिएको छ ।
‘सत्य र न्यायको खोजी अभियान’ले भूमि प्रशासन कार्यालय, भक्तपुरमा मागपत्र बुझाउँदै साविक कित्ता नम्बर ४७ को १९ रोपनी १० आना जग्गामध्ये करिब १६ रोपनी सार्वजनिक तथा सरकारी प्रकृतिको रहेको दाबी गरेको हो ।
अभियानका अनुसार साविक नापी नक्सामा कित्ता नम्बर ४७ को जग्गामध्ये केही भाग ‘पर्ती’ जनाइएको थियो । उक्त जग्गा लामो समयदेखि सार्वजनिक प्रयोजनमा प्रयोग हुँदै आएको र त्यहाँ पानी ट्याङ्की, कालभैरव मन्दिर, सार्वजनिक बस बिसौनी तथा खानेपानी संस्थानको कार्यालयलगायत संरचना रहेको मागपत्रमा उल्लेख छ ।
अभियानले मालपोत ऐन, २०३४ को दफा २४(२) बमोजिम व्यक्तिको नाममा कायम रहेको दर्ता स्रेस्ता बदर गरी नेपाल सरकारको नाममा कायम गर्न माग गरेको छ ।
मागपत्र अनुसार विसं २०२१÷२२ मा नापजाँच हुँदा कित्ता नम्बर ४७ कायम भएको थियो । त्यसपछि विसं २०४२ मा मालपोत कार्यालय भक्तपुरको निर्णयबाट सोही जग्गामध्ये १६ रोपनी कान्छा सुवालको नाममा दर्ता गर्ने निर्णय भएको र साविक कित्ता नम्बर ४७ बदर गरी कित्ता नम्बर ३७५ कायम गरिएको जनाइएको छ ।
अभियानले हालको नापी नक्सा, अभिलेख र जग्गाको भौतिक अवस्थाको पुनः परीक्षण गरी सरकारी वा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएको भए बदर गर्न माग गरेको छ ।
अभियानका प्रतिनिधिले सरकारी सम्पत्तिको संरक्षण गर्दै जग्गाको सार्वजनिक प्रयोगलाई निरन्तरता दिन सम्बन्धित निकायसँग आग्रह गरेका छन् । ०००००










प्रतिकृया दिनुहोस