बागमती प्रदेशमा एमालेका किरण थापालाई समर्थन गरेपछि राप्रपामा भाँडभैलो 

हेटौँडा, ३ भदौ ।
बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापालाई समर्थन गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाभित्र विवाद चर्किएको छ ।
केन्द्रको निर्देशनविपरीत आज संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि राप्रपाका १२ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरेपछि पार्टी केन्द्रले आपत्ति जनाएको हो ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टीको निर्णय र निर्देशनविपरीत गरिएको समर्थनलाई मान्यता नदिन प्रदेश प्रमुखलाई पत्राचार गरिएको जानकारी दिनुभएको छ । उहाँले सरकार गठनमा राप्रपाको कुनै समर्थन नरहेको स्पष्ट पार्दै प्रदेश प्रमुखसमक्ष बुझाइएको पत्रलाई मान्यता नदिन आग्रह गरिएको बताउनुभयो ।
राप्रपाले आफ्ना सांसदले पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले सरकार निर्माणको कुनै पनि गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको र बागमती प्रदेश संसदीय दललाई तटस्थ बस्न निर्देशन दिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
यसैबीच, एमाले र नेकपाले सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन नसकेपछि बागमतीमा राप्रपाको समर्थन निर्णायक बनेको छ ।
प्रदेश प्रमुखसमक्ष बुझाइएको दाबी पत्रमा एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ गरी ६३ जना प्रदेशसभा सदस्यको समर्थनमा सरकार गठनको दाबी गरिएको छ ।
तर, पार्टी केन्द्रले उक्त समर्थन अस्वीकार गरेपछि राप्रपाको आन्तरिक विवादसँगै बागमती प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया थप जटिल बनेको छ । ०००००
 

प्रतिकृया दिनुहोस