ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

नेपालगञ्ज, ४ भदौ । 
बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टले चार वर्षअघि एक बिगाहा खेतमा ताइवानी अम्बा लगाउने निर्णय गर्दा यसबाट यति राम्रो आम्दानी होला भन्ने अनुमान गर्नुभएको थिएन । धान र तोरी खेती गर्दै आएको खेतमा सुरु गरेको अम्बा खेती अहिले उहाँका लागि राम्रो आम्दानीको स्रोत बनेको छ ।
विष्टका अनुसार अम्बाबाट एक सिजनमा करिब दुई लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ । वर्षमा दुई सिजन उत्पादन हुने भएकाले परम्परागत अन्नबालीको तुलनामा अम्बा खेतीबाट राम्रो आम्दानी भइरहेको उहाँको भनाइ छ ।
भारतबाट बिरुवा ल्याएर सुरु गरिएको बगैँचामा अहिले मुख्य रूपमा ताइवानी प्रजातिका अम्बा छन् । फललाई किरा र चराचुरुङ्गीबाट जोगाउन प्लास्टिकले प्याकिङ गर्ने प्रविधि अपनाइएको छ । यसले फल सुरक्षित हुनुका साथै रङ र आकर्षणसमेत राम्रो देखिने उहाँले बताउनुभएको छ ।
अम्बा खेतीमा धान र गहुँको तुलनामा कम मेहनत लाग्ने र बजारको समस्या पनि नरहेको विष्टको अनुभव छ । बगैँचामा फल तयार भएपछि व्यापारी आफैँ खरिद गर्न आउने गरेका छन् । कतिपय ग्राहकले घरबाटै अम्बा खरिद गर्छन् भने मण्डीका व्यापारीले खरिद गरी नेपालगञ्ज बजारमा लैजाने गरेका छन् ।
हाल उहाँको अम्बाको मुख्य बजार नेपालगञ्ज हो । अम्बा खेतीबाट आम्दानी बढ्दै गएपछि विष्ट आगामी दिनमा खेती विस्तार गर्ने योजनामा हुनुहुन्छ । उहाँको सफलताबाट स्थानीय अन्य किसान पनि व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित हुन थालेका छन् । ०००००
 

प्रतिकृया दिनुहोस