पोखरामा ‘राइट टु प्रोटिन रन’ आयोजना हुँदै
पोखरा, ५ भदौ ।
प्रोटिन, सन्तुलित पोषण, शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउने उद्देश्यले पोखरामा ‘राइट टु प्रोटिन रन’को पाँचौँ संस्करण आयोजना हुने भएको छ । नेपाल फिड इन्डस्ट्रिज एसोसिएसनको आयोजनामा आगामी असोज ३ गते प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा आठ विधामा प्रतिस्पर्धा हुने र चार हजारभन्दा बढी धावक सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि कुल १६ लाख रुपैयाँ बराबरको पुरस्कार राशि छुट्याइएको छ ।
पोखराको लेकसाइडस्थित वसुन्धरा पार्कबाट सुरु हुने दौड हल्लनचोक, खहरे, सेदी, खपौदी र पामे हुँदै पुनः वसुन्धरा पार्कमै आएर टुङ्गिनेछ । प्रतियोगितामा महिला तथा पुरुष २१ किलोमिटर हाफ म्याराथन, पुरुष १० किलोमिटर खुला दौड, महिला पाँच किलोमिटर खुला दौड, कक्षा १२ सम्मका विद्यार्थीका लागि युवा दौड, तीन किलोमिटर दौड तथा महिला र पुरुष ह्वीलचेयर दौड समावेश छन् ।
प्रत्येक विधाका उत्कृष्ट पाँच खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ । हाफ म्याराथनको महिला तथा पुरुष दुवै विधामा पहिलोदेखि पाँचौँ स्थानसम्मका खेलाडीले क्रमशः एक लाख ५० हजारदेखि २५ हजार रुपैयाँसम्म पुरस्कार पाउनेछन् ।
यसअघि प्रतियोगिताका चारवटै संस्करण काठमाडौँमा आयोजना गरिएकामा पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यसपटक पोखरामा आयोजना गर्न लागिएको कार्यक्रम संयोजक समेज राजभण्डारीले जानकारी दिनुभयो ।
आयोजकका अनुसार प्रतियोगिताले अण्डा, कुखुराको मासु, माछा, दूध, सोया, पनीर, दाल तथा गेडागुडीजस्ता सहज र गुणस्तरीय प्रोटिनका स्रोतबारे जनचेतना बढाउनेछ । साथै, नियमित शारीरिक सक्रियता र स्वस्थ जीवनशैली प्रवद्र्धनमा समेत कार्यक्रमले योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
नेपालमा शरीरलाई आवश्यक प्रोटिनको मात्रा, यसको गुणस्तर र उपलब्ध स्रोतबारे पर्याप्त जानकारी नभएकाले ‘राइट टु प्रोटिन रन’लाई पोषणसम्बन्धी जनचेतना विस्तार गर्ने अभियानका रूपमा अघि बढाइएको आयोजकले जनाएको छ । ०००००












प्रतिकृया दिनुहोस