लिग–२ का अन्तिम चार खेलले नेपालको विश्वकप छनोट र ओडीआई मान्यता टुंगो लगाउने
विर्तामोड, ३ भदौ ।
नेपालको आईसीसी विश्वकप लिग–२ यात्राका अन्तिम चार खेलले ओडीआई मान्यता जोगाउने र विश्वकप छनोटमा पुग्ने सम्भावनाको टुंगो लगाउने भएको छ ।
अमेरिका, स्कटल्यान्ड र नेदरल्यान्ड्स शीर्ष तीनमा रहँदै ग्लोबल छनोटमा पुगिसकेका छन् । अब चौथो स्थानका लागि ओमानसँगै नेपाल, क्यानडा र युएईसहितका टोलीबीच प्रतिस्पर्धा छ ।
नेपालले अक्टोबरमा ओमानमा घरेलु टोली र क्यानडाविरुद्ध दुई–दुई खेल खेल्नेछ । चारै खेल जिते नेपाल ३२ अंकमा पुग्नेछ । तर, शीर्ष चारमा पुग्न नेपालले आफ्ना खेल जितेर मात्रै पुग्ने छैन, अन्य टोलीको नतिजा पनि अनुकूल आउनुपर्नेछ ।
हाल ओमान २८ खेलबाट ३१ अंकसहित चौथो स्थानमा छ । ओमानले बाँकी आठमध्ये तीन खेल जिते शीर्ष चारमा आफ्नो स्थान सुरक्षित गर्ने अवस्थामा छ । एक खेल जिते पनि उसको ओडीआई मान्यता जोगिनेछ ।
क्यानडा ३२ खेलबाट २५ अंकसहित पाँचौँ स्थानमा छ भने नेपाल ३२ खेलबाट २४ अंकसहित सातौँ स्थानमा छ । युएई २८ खेलबाट १८ अंकसहित पुछारमा छ ।
नेपालले शीर्ष चारमा पुग्न ओमानलाई बाँकी सबै खेलमा पराजित गर्नुुपर्ने अवस्थासहित नामिबिया र युएईको नतिजा पनि आफूअनुकूल आउनुपर्नेछ । विशेषगरी नेपालको शीर्ष चारको सम्भावना युएईको नतिजामा बढी निर्भर रहने देखिएको छ ।
नेपालले शीर्ष चारमा स्थान बनाउन नसके पनि शीर्ष छमा रहँदै ओडीआई मान्यता जोगाउने अर्को लक्ष्य छ । त्यसका लागि नेपालले बाँकी चारै खेल जित्नुपर्ने, क्यानडाले ओमानसँगका दुवै खेल हार्नुपर्ने र युएईले बाँकी खेलमध्ये कम्तीमा चार खेलमा हार बेहोर्नुपर्नेछ ।
यसैबीच, लिग–२ मा बाँकी सिरिजअन्तर्गत अक्टोबरमा ओमानमा नेपाल, क्यानडा र आयोजक ओमानबीच तथा अमेरिकामा अमेरिका, नामिबिया र युएईबीच खेल हुनेछ । डिसेम्बरमा युएईले ओमान र नेदरल्यान्ड्सलाई आतिथ्य दिनेछ ।
नेपालका लागि अब लिग–२ का अन्तिम चार खेल केवल अंक जोड्ने खेल नभई विश्वकप छनोट र ओडीआई मान्यता जोगाउने निर्णायक परीक्षा बनेका छन् । ००००












प्रतिकृया दिनुहोस