बजेट अभावले ८३ लाख शरणार्थी अत्यावश्यक सेवाबाट वञ्चित हुने जोखिम
विर्तामोड, १४ असोज ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरले बजेट अभावका कारण विश्वभरका झण्डै ८३ लाख शरणार्थी तथा अन्य विस्थापित व्यक्ति अत्यावश्यक सहायता र संरक्षण सेवाबाट वञ्चित हुन सक्ने चेतावनी दिएको छ ।
यूएनएचसीआरका अनुसार यस वर्ष शरणार्थी तथा विस्थापितको संरक्षणका लागि ८ अर्ब ५० करोड अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएकोमा जुलाईको अन्त्यसम्म २ अर्ब ७० करोड डलर अर्थात् ३२ प्रतिशत मात्रै प्राप्त भएको छ ।
बजेट अभावका कारण चाड, इथियोपिया र सुडानलगायत देशमा बाल संरक्षण, शरणार्थी दर्ता तथा यौन हिंसाबाट प्रभावित व्यक्तिका लागि आवश्यक सेवामा असर पर्न थालेको यूएनएचसीआरले जनाएको छ ।
इराकमा ३ लाख ५० हजार शरणार्थी तथा शरण खोजिरहेका व्यक्ति आर्थिक समावेशीकरणका अवसरबाट वञ्चित हुन सक्ने जोखिममा छन् । त्यस्तै, सिरियामा १ लाख ६२ हजार ५ सय कमजोर अवस्थामा रहेका आन्तरिक रूपमा विस्थापित तथा स्वदेश फर्किएका व्यक्तिले तत्काल आर्थिक सहायता नपाउने जोखिम रहेको यूएनएचसीआरले जनाएको छ ।
संस्थाका अनुसार सन् २०२५ मा बजेट सङ्कटका कारण झण्डै ५ हजार कर्मचारीको पद कटौती गरिएको थियो । अमेरिका लगायत प्रमुख दातृ राष्ट्रबाट प्राप्त हुने वैदेशिक सहायता घट्दै जाँदा विश्वव्यापी शरणार्थी तथा मानवीय सहायता प्रणालीमाथि थप दबाब परेको यूएनएचसीआरले जनाएको छ । ०००००











प्रतिकृया दिनुहोस