मतदाता सूची विवादमा ७ सयभन्दा बढी प्रदर्शनकारी पक्राउ

दिल्ली, १६ असोज ।
भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीले ७ सयभन्दा बढीलाई पक्राउ गरेको छ । दिल्लीस्थित जन्तरमन्तरबाट मात्रै ७ सयभन्दा बढी प्रदर्शनकारी पक्राउ परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
ककरोच जनता पार्टीले ज्ञानेश कुमारको राजीनामा माग गर्दै बिहीबारदेखि आन्दोलन सुरु गरेको हो । मतदाता सूचीको संशोधन तथा निर्वाचन प्रक्रियालाई लिएर यसअघि पनि विभिन्न विपक्षी दलले विरोध प्रदर्शन गर्दै आएका थिए ।
पक्राउ पर्नेमा विद्यार्थीका साथै विपक्षी दलका नेतासमेत रहेका छन् । बीबीसी हिन्दीको समाचारलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले आम आदमी पार्टीकी नेता तथा दिल्लीकी पूर्वमुख्यमन्त्री आतिशी, पूर्वमन्त्री सौरभ भारद्वाजलगायत पक्राउ परेको जनाएका छन् ।
त्यस्तै, दिल्लीको जन्तरमन्तरबाट राष्ट्रिय जनता दलका सांसद मनोज झा र भारतीय कम्युनिस्ट नेता एमए बेबीलाई पनि प्रहरीले पक्राउ गरेको समाचारमा उल्लेख छ ।
मतदाता सूचीको विशेष गहन संशोधनलाई लिएर भारतमा निर्वाचन आयोगमाथि दबाब बढिरहेका बेला पछिल्लो प्रदर्शन र पक्राउले विवादलाई थप चर्चामा ल्याएको छ । ०००००
 

प्रतिकृया दिनुहोस