नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेसनसम्म
विर्तामोड, १६ असोज ।
यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसहित विभिन्न अन्तर्राष्ट्रिय संस्था, अभियन्ता र अन्तरिक्ष स्टेसनसमेत चर्चामा रहेका छन् ।
यस वर्ष शान्ति पुरस्कारका लागि कुल दुई सय ८७ जना उम्मेदवार मनोनयनमा परेका छन् । नर्वेजियन नोबेल समितिले आउँदो अक्टोबर ९ अर्थात् शुक्रबार पुरस्कार विजेताको घोषणा गर्नेछ ।
समाचार संस्था एपीका अनुसार सम्भावित दाबेदारको सूचीमा युक्रेनी बालअधिकार अभियन्ता माइकोला कुलेबा, सेभ द चिल्ड्रेन, सुडानको आपत्कालीन प्रतिक्रिया कक्ष र पत्रकारको सुरक्षा गर्ने कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स रहेका छन् । अन्तर्राष्ट्रिय न्याय अदालत र अन्तर्राष्ट्रिय फौजदारी अदालतको नाम पनि सम्भावित दाबेदारका रूपमा चर्चामा छ ।
शान्ति अनुसन्धान संस्थान ओस्लोका निर्देशक हाकोन जेर्लोउले अन्तर्राष्ट्रिय सहकार्य कमजोर भइरहेका बेला विभिन्न देशबीचको सहकार्यको दुर्लभ प्रतीकका रूपमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन रहेको बताउनुभएको छ ।
सुडान, युक्रेन, यमन, इरान तथा मध्यपूर्वमा जारी युद्ध र द्वन्द्वको पृष्ठभूमिमा यस वर्षको नोबेल शान्ति पुरस्कार घोषणा हुन लागेको हो । नोबेल पुरस्कार शृङ्खला आउँदो सोमबार चिकित्सा शास्त्रको पुरस्कार घोषणासँगै सुरु हुनेछ । यसवर्ष नोबेल शान्ति पुरस्कारको राशि एक करोड २० लाख स्विडिस क्रोनर रहेको छ । ०००००












प्रतिकृया दिनुहोस