मतदाता सूची संशोधनको विरोधमा भारतमा ‘कक्रोच’ आन्दोलन
विर्तामोड, १६ असोज ।
भारतमा विवादास्पद मतदाता सूची संशोधनको विरोधमा ‘कक्रोच’ युवा आन्दोलनले आज मुम्बईमा प्रदर्शन गर्ने भएको छ । आन्दोलनकारीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेका छन् ।
अनलाइन अभियानका रूपमा सुरु भएको ‘कक्रोच’ आन्दोलनले यसअघि युवा बेरोजगारी र परीक्षाका प्रश्नपत्र चुहावटविरुद्ध प्रदर्शन गरेको थियो । आन्दोलनपछि शिक्षामन्त्रीले राजीनामा दिनुभएको थियो। विद्यार्थी तथा नागरिक समाजका समूहले पनि समान मागसहित नयाँदिल्लीको जन्तर मन्तरमा प्रदर्शन गर्ने तयारी गरेका छन् ।
मतदाता सूचीको ‘विशेष गहन संशोधन’ लाई लिएर निर्वाचन आयोगमाथि दबाब बढेको छ । आलोचक तथा विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीलाई फाइदा पुग्ने गरी मतदाता सूचीमा परिवर्तन गरिएको आरोप लगाएका छन्। निर्वाचन आयोग र सरकारले भने कुनै गलत काम नभएको बताउँदै आएका छन् ।
बिहारबाट सुरु भएको मतदाता सूची संशोधन अधिकांश राज्य तथा सङ्घीय प्रशासित क्षेत्रमा विस्तार भएको छ । आलोचकहरूले आवश्यक कागजात जुटाउन कठिन हुँदा लाखौँ योग्य मतदाता सूचीबाट छुट्न सक्ने बताएका छन् । आयोगले भने दोहोरो र अयोग्य नाम हटाउँदै योग्य मतदातालाई सूचीमा कायम राख्नु संशोधनको उद्देश्य रहेको स्पष्ट पारेको छ । ०००००












प्रतिकृया दिनुहोस