इरानमा जनवरीको सरकारविरोधी प्रदर्शनसँग जोडिएका दुई जनालाई मृत्युदण्ड 

विर्तामोड, १४ असोज ।
इरानमा जनवरीमा भएको सरकारविरोधी प्रदर्शनसँग सम्बन्धित अभियोगमा दुई जनालाई मृत्युदण्ड दिइएको छ । 
इरानी न्यायपालिकाका अनुसार अली हेमती सिस्तानी र माजिद निक–अन्डिसलाई उत्तरपूर्वी सहर मशादमा भएको प्रदर्शनका क्रममा चार सुरक्षाकर्मीको मृत्युमा संलग्न रहेको आरोपमा दोषी ठहर गरिएको थियो । सर्वोच्च अदालतले मृत्युदण्डको फैसला सदर गरेपछि आज उनीहरूलाई फाँसी दिइएको हो ।
न्यायपालिकाले उनीहरूले पसल, बैंक र बसलगायत सार्वजनिक सम्पत्तिमा आगजनी तथा क्षति पु¥याएको आरोप लगाएको छ । मानवअधिकारसम्बन्धी संस्थाहरूले भने यी मुद्दामा निष्पक्ष सुनुवाइ र यातनाबाट प्राप्त भनिएका बयानबारे प्रश्न उठाएका छन् ।
इरानमा गत वर्षको अन्त्यतिर आर्थिक तथा सामाजिक असन्तुष्टिबाट सुरु भएको प्रदर्शन जनवरीमा व्यापक सरकारविरोधी आन्दोलनमा परिणत भएको थियो। मानवअधिकारसम्बन्धी संस्थाका अनुसार प्रदर्शनमाथि भएको दमनमा ठूलो मानवीय क्षति भएको थियो ।
यसैबीच, इरान ह्युमन राइट्स र टुगेदर अगेन्स्ट द डेथ पेनाल्टीको संयुक्त प्रतिवेदनअनुसार इरानमा सन् २०२५ मा कम्तीमा एक हजार ६३९ जनालाई मृत्युदण्ड दिइएको थियो । यो सन् १९८९ यताकै सबैभन्दा ठूलो वार्षिक सङ्ख्या भएको प्रतिवेदनमा उल्लेख छ ।
मानवअधिकारसम्बन्धी संस्थाहरूका अनुसार चीनपछि इरान विश्वमा सबैभन्दा बढी मृत्युदण्ड कार्यान्वयन गर्ने देशमध्ये एक हो । ०००००
 

प्रतिकृया दिनुहोस