गाजामा मानवीय सङ्कट कायमै, वेस्ट ब्याङ्कको अवस्था पनि चिन्ताजनक : राष्ट्रसंघ

विर्तामोड, १४ असोज ।
संयुक्त राष्ट्रसङ्घले गाजा पट्टीमा खाद्यान्न आपूर्तिमा केही सुधार भए पनि त्यहाँको मानवीय सङ्कट अझै गम्भीर रहेको जनाएको छ । मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घका कार्यवाहक विशेष संयोजक डा. रमिज अलक्बारोभले गाजामा पानी, सरसफाइ, आश्रयस्थल, स्वास्थ्य सेवा र फोहर व्यवस्थापन लगायतका समस्या कायमै रहेको बताउनुभएको हो ।
युएन न्युजसँगको अन्तर्वार्तामा उहाँले संयुक्त राष्ट्रसङ्घले गाजामा पानी, सरसफाइ, स्वास्थ्य, भग्नावशेष हटाउने, शिक्षा र किसानलाई सहयोग गर्ने काम जारी राखेको जानकारी दिनुभयो । उहाँका अनुसार तीन लाखभन्दा बढी बालबालिकाले अस्थायी स्थानमा शिक्षा लिइरहेका छन् भने कृषि गतिविधिका लागि सीमित जमिन मात्र उपलब्ध छ । 
राष्ट्रसङ्घीय अधिकारीले गाजामा आठ हजारभन्दा बढी मानिस अझै भग्नावशेषमुनि बेपत्ता रहेको बताउनुभयो। प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सीले प्रतिबन्धका बाबजुद आफ्नो काम जारी राखेको उहाँले जानकारी दिनुभयो ।
यसैगरी, वेस्ट ब्याङ्कको अवस्था पनि अत्यन्त नाजुक रहेको राष्ट्रसङ्घले जनाएको छ । इजरायली बस्ती विस्तार, हिंसा, आवागमनमा प्रतिबन्ध र आर्थिक दबाबले स्थानीय अवस्था थप जटिल बनेको अलक्बारोभले बताउनुभयो ।
उहाँले प्रभावित परिवारलाई अनुदान, नगद सहायता र कानुनी सहयोग उपलब्ध गराइएको जानकारी दिँदै प्यालेस्टिनी समस्याको दीर्घकालीन समाधानका लागि दुई–राज्य अवधारणाको विकल्प नरहेको बताउनुभयो । ०००००
 

प्रतिकृया दिनुहोस