मेचीनगरमा मापदण्डविपरीत सञ्चालित दुई अस्पताल र दुई क्लिनिकमा सिलबन्दी
बिर्तामोड, १५ असोज ।
मेचीनगर नगरपालिकाको अनुगमन टोलीले मापदण्डविपरीत सञ्चालनमा रहेका दुई अस्पताल र दुई क्लिनिकमा सिलबन्दी गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभास श्रेष्ठको नेतृत्वमा बुधबार चारआली र धुलाबारी क्षेत्रमा गरिएको अनुगमनका क्रममा ती स्वास्थ्य संस्थामा सिलबन्दी गरिएको हो । अनुगमनका क्रममा चारआलीस्थित मनोकामना अस्पताल र धुलाबारीस्थित शिखर अस्पतालले एक वर्षदेखि नवीकरण नगरी सञ्चालन गरेको पाइएपछि सिलबन्दी गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो। मनोकामना अस्पताललाई दर्ता तथा नवीकरणका लागि पटकपटक पत्राचार गर्दा पनि बेवास्ता गरेपछि कारबाही गरिएको उहाँले बताउनुभयो । यस्तै, धुलाबारीमा सञ्चालित प्रतिभा जमुना मेडिकल र न्यू मिलन मेडिकलले प्रयोगशाला र क्लिनिक दर्ता नगरी सञ्चालन गरेको पाइएपछि सिलबन्दी गरिएको छ । अनुगमनका क्रममा प्रतिभा जमुना मेडिकलबाट म्याद गुज्रिएका औषधिसमेत बरामद गरिएको छ । रोहन मेडिकल र मनकामना फार्मेसीमा पनि म्याद गुज्रिएका औषधि फेला परेपछि ती औषधि जफत गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठका अनुसार कानुनविपरीत सञ्चालन भएका स्वास्थ्य संस्थालाई नगरपालिकाले जरिवाना गर्नेछ भने फार्मेसी सञ्चालकमाथि थप कारबाहीका लागि औषधि व्यवस्था विभागको विराटनगरस्थित क्षेत्रीय कार्यालयमा पत्राचार गरिनेछ । स्वास्थ्य संस्था, क्लिनिक र प्रयोगशालाले कानुनअनुसार दर्ता तथा नवीकरण गरेपछि मात्रै सिलबन्दी खोलिने नगरपालिकाले जनाएको छ ।









प्रतिकृया दिनुहोस