भोजपुरका युवा गाउँमै उद्यम तथा व्यवसायमा आकर्षित 


बिर्तामोड, १६ असोज । 

भोजपुरमा पछिल्लो समय युवा गाउँमै रहेर कृषि तथा पशुपालन व्यवसायमा जोडिने क्रम बढेको छ । विदेशबाट फर्किएका तथा गाउँमै रहेका युवाले अलैँची, किवी, एभोकाडो, ओखर, चिराइतोखेती र बाख्रापालनलाई व्यावसायिक रूपमा अघि बढाएका छन् ।
गाउँमै मेहनत गरेर राम्रो आम्दानी गर्न सकिने भएपछि युवा कृषि तथा पशुपालनतर्फ आकर्षित भएका हुन् । विदेशमा सिकेको सीप र अनुभवलाई उपयोग गर्दै उनीहरूले स्थानीय स्रोतसाधनको प्रयोगबाट उद्यम सञ्चालन गरिरहेका छन् ।
टेम्केमैयुङ गाउँपालिका–५ चोलन्तीका पुस्कर विष्टले छ वर्षदेखि व्यावसायिक बाख्रापालन गर्दै आउनुभएको छ । विदेशबाट फर्किएपछि उहाँले ‘पुस्कर कृषि तथा पशुपालन फार्म’ सञ्चालन गरी बोयर र स्थानीय जातका बाख्रा पाल्नुभएको छ । विदेशमा भन्दा गाउँमै व्यवसाय गर्दा राम्रो आम्दानी भएको उहाँले बताउनुभयो ।
त्यस्तै, मलेसियाबाट फर्किनुभएका भीमराज विष्टले भोजपुर नगरपालिका–६ मा बाख्रापालनसँगै सुन्तला र कागतीखेती गरिरहनुभएको छ । गाउँमै व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बन्न सकिने उहाँको भनाइ छ ।
अर्का युवा लाल विष्टले नयाँ र पुरानो गरी करिब ४० रोपनीमा व्यावसायिक अलैँचीखेती गर्नुभएको छ । अलैँचीको मूल्यमा सुधार आएसँगै युवा यसतर्फ आकर्षित भएको उहाँले बताउनुभयो। मेहनत गर्न सके परिवारसँगै बसेर वार्षिक चारदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने उहाँको अनुभव छ ।
कृषि तथा पशुपालनमा युवाको सक्रियता बढेसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै उत्पादन र आम्दानीसमेत बढ्न थालेको छ । आफ्नै जमिन, सीप र स्थानीय स्रोतसाधनको उपयोग गर्दै युवाले गाउँमै उद्यम सञ्चालन गर्न थालेपछि भोजपुरमा कृषि तथा पशुपालन व्यवसाय विस्तार हुँदै गएको छ । 
 

प्रतिकृया दिनुहोस