कांग्रेस महाधिवेशनअघि पदाधिकारी संख्या बढाउने तयारी
बिर्तामोड, १७ असोज ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा पदाधिकारी संख्या बढाउने तयारी भएको छ । नेतृत्वका आकांक्षी बढेपछि उपसभापति र सहमहामन्त्रीको संख्या थप्ने विषयमा आज निर्णय गर्ने तयारी गरिएको कांग्रेस नेताहरूले बताएका छन् ।
कांग्रेसको हालको विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री रहने व्यवस्था छ । विशेष महाधिवेशनबाट विधान संशोधन गरी सभापतिले मनोनयन गर्ने तीन सहमहामन्त्री थपिएपछि पदाधिकारी संख्या १७ पुगेको छ । अब उपसभापति र सहमहामन्त्रीको संख्या बढाएर अन्य पद यथावत् राख्ने तयारी भएको हो । कांग्रेसले ३५ वर्षमुनिका युवाका लागि पनि सहमहामन्त्रीमा स्थान छुट्याउने तयारी गरेको छ । हालको विधानमा महिला, आदिवासी जनजाति, दलित, मधेसी, खसआर्य, थारू, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक–एक जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ ।
भोलिदेखि सुरु हुने महाधिवेशनमा अहिलेसम्मकै धेरै सात हजार सात सय प्रतिनिधि सहभागी हुँदैछन् । केन्द्रीय निर्वाचन समितिले पर्सि सोमबार दिउँसो २ बजेदेखि उम्मेदवारी मनोनयनको कार्यक्रम तय गरेको छ ।
विशेष महाधिवेशनपछि कांग्रेसको केन्द्रीय कार्यसमितिको आकार दुई सय ३८ सदस्यीय पुगेको छ । त्यसमध्ये ६१ जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ ।










प्रतिकृया दिनुहोस