तनहुँमा चैते धानखेती विस्तारलाई प्राथमिकता


बिर्तामोड, १६ असोज । 
तनहुँमा चैते धानखेतीको क्षेत्र विस्तार, उत्पादन वृद्धि र कृषि यान्त्रिकीकरणलाई प्राथमिकता दिँदै प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ । कृषि विकास कार्यालयले किसानलाई प्रविधिमैत्री खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले विभिन्न कार्यक्रम अघि बढाएको हो । कार्यालयका अनुसार जिल्लामा तीन हजार ८०५ रोपनी क्षेत्रफलमा चैते धानखेती गरिएको छ । यसबाट ८८६ दशमलव ५६ मेट्रिक टन धान उत्पादन भएको छ । चैते धान प्रवर्द्धनका लागि विनियोजित ९५ लाख रुपैयाँमध्ये ८७ लाख ९७ हजार रुपैयाँ खर्च भएको कार्यालय प्रमुख परशुराम अधिकारीले जानकारी दिनुभयो । कार्यक्रमअन्तर्गत १३ वटा कृषक समूह तथा कृषि सहकारीमार्फत किसानलाई पाँच हजार ३१६ किलोग्राम धानको बीउ, दुईवटा मल्टिक्रप थ्रेसर, एक मिनीटिलर, तीनवटा डिजिटल तराजु, १३ वटा कम्बाइन मिल, छवटा स्प्रेयर र ३४१ वटा त्रिपाल वितरण गरिएको छ । त्यस्तै, चैते धानखेतीका लागि आवश्यक सिँचाइ सुविधा विस्तार गर्न दुई हजार तीन मिटर पक्की कुलो निर्माण गरिएको छ । यसबाट थप १२ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । कार्यक्रमबाट ३०१ महिलासहित ५७६ जना किसान लाभान्वित भएका छन् । वर्षे धानसँगै चैते धानखेतीलाई थप उत्पादन र आम्दानीको अवसरका रूपमा अघि बढाइएको कार्यालयले जनाएको छ। उन्नत बीउ, कृषि यन्त्र उपकरण र सिँचाइ सुविधाको विस्तारमार्फत उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ । चैते धानखेतीको सम्भावना भएका क्षेत्र पहिचान गरी आगामी दिनमा कार्यक्रम विस्तार गर्ने कार्यालयको योजना छ । चैते धानको उत्पादन बढाउन सके जिल्लाको समग्र धान उत्पादन र किसानको आयआर्जनमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ । 

प्रतिकृया दिनुहोस