बेलायतमा एक हप्तामै कोभिड अस्पताल भर्ना ५० प्रतिशतले बढ्यो

विर्तामोड, १७ असोज ।
बेलायतमा कोभिड–१९ सङ्क्रमणका कारण अस्पताल भर्ना हुनेको सङ्ख्या एक हप्तामै झन्डै ५० प्रतिशतले बढेको छ । ‘स्ट्र्याटस’ भनेर चिनिने एक्सएफजी भेरियन्टको प्रभाव बढ्दै जाँदा लन्डन सबैभन्दा बढी प्रभावित भएको ‘टाइम्स नाउ’ले जनाएको छ ।
बेलायतको हेल्थ सेक्युरिटी एजेन्सीको नयाँ तथ्याङ्क अनुसार प्रति एक लाख जनसङ्ख्यामा कोभिडका कारण अस्पताल भर्ना हुने साप्ताहिक दर शून्य दशमलव ८१ बाट बढेर एक दशमलव २० पुगेको छ । लन्डनमा भने अस्पताल भर्ना हुने दर ७९ प्रतिशतले बढेको छ ।
ज्येष्ठ नागरिकमा पनि सङ्क्रमणको प्रभाव बढी देखिएको छ । ८५ वर्षभन्दा माथिका व्यक्तिमा अस्पताल भर्ना हुने दर प्रति एक लाखमा ७ दशमलव ०८ बाट बढेर १२ दशमलव ४३ पुगेको छ ।
स्वास्थ्य विज्ञहरूले अहिले देखिएको सङ्क्रमणको वास्तविक सङ्ख्या तथ्याङ्कमा देखिएभन्दा बढी हुन सक्ने बताएका छन् । महामारीको समयको तुलनामा अहिले कोभिड परीक्षण गराउनेको सङ्ख्या निकै कम रहेकाले सङ्क्रमितको वास्तविक अवस्था स्पष्ट नहुन सक्ने उहाँहरूको भनाइ छ ।
यद्यपि अहिलेको वृद्धि महामारीको चरम अवस्थाका लहरको तुलनामा निकै कम रहेको र अस्पताल भर्ना दर अझै आधारभूत स्तरमै रहेको बेलायतको हेल्थ सेक्युरिटी एजेन्सीले जनाएको छ। बेलायतमा अगस्टको अन्तिम हप्तामा कोभिडसँग सम्बन्धित सात जनाको मृत्यु भएको थियो भने त्यसअघिको हप्तामा छ जनाको मृत्यु भएको थियो । ०००००
 

प्रतिकृया दिनुहोस