अस्ट्रेलियाले विद्यार्थी भिसा नियम बनायो थप कडा
बिर्तामोड, १७ असोज ।
अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियम कडा बनाएको छ । नयाँ व्यवस्था अक्टोबर २ अर्थात् हिजोदेखि लागू भएको हो । यसबाट अस्ट्रेलियामा अध्ययनरत तथा अध्ययनका लागि जाने तयारीमा रहेका नेपाली विद्यार्थीसमेत प्रभावित हुने देखिएको छ ।
नयाँ नियमअनुसार आफू अध्ययन गरिरहेको भन्दा उच्च तहको कोर्समा भर्ना हुने अवस्थाबाहेक विद्यार्थीले अस्ट्रेलियाभित्रैबाट नयाँ विद्यार्थी भिसाका लागि आवेदन दिन पाउने छैनन् । कोर्स पूरा हुन १२ महिनाभन्दा बढी समय बाँकी भएमा पनि अस्ट्रेलियाभित्रबाट नयाँ भिसा आवेदन दिन रोक लगाइएको छ ।
कोर्स पूरा हुन १२ महिनाभन्दा कम समय बाँकी रहेका विद्यार्थीले भने निश्चित अवस्थामा अस्ट्रेलियाभित्रैबाट आवेदन दिन सक्नेछन् । प्रभावित विद्यार्थीले आवश्यक परे अस्ट्रेलिया बाहिरबाट भिसा आवेदन दिनुपर्नेछ । नयाँ व्यवस्था विद्यावारिधि अध्ययनरत, विद्यालय तहका विद्यार्थी, कूटनीतिक नियोगबाट अनुमति प्राप्त विद्यार्थी तथा केही विशेष अवस्थामा शैक्षिक संस्था बन्द वा खारेज भएका विद्यार्थीका हकमा लागू नहुने जनाइएको छ । अस्ट्रेलियाले आप्रवासीको वार्षिक संख्या झण्डै तीन लाखबाट घटाएर दुई लाख २५ हजारमा सीमित गर्ने नीति अघि बढाइरहेका बेला विद्यार्थी भिसामा नयाँ व्यवस्था लागू गरेको हो ।












प्रतिकृया दिनुहोस