भारतमा पक्राउ परेकालाई रिहा गर्न राष्ट्रसङ्घको आग्रह 


बिर्तामोड, २५ असोज  । 
भारतमा भइरहेको विरोध प्रदर्शनका क्रममा पक्राउ परेका नेता तथा प्रदर्शनकारीलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालयले आग्रह गरेको छ । दिल्लीमा हिजो भएको बृहत् प्रदर्शनका क्रममा र त्यसअघि पक्राउ परेका नेता, नागरिक समाजका सदस्य तथा वकिललगायतका विषयमा चिन्ता व्यक्त गर्दै कार्यालयले उनीहरूलाई तत्काल र बिनासर्त रिहा गर्न भनेको हो ।
प्रहरीले कक्रोच जनता पार्टीका नेता अभिजित दिपकेलाई दिल्ली विमानस्थलमा जहाजभित्रै प्रवेश गरेर पक्राउ गरेको थियो । पार्टीका नेता सौरभ दास र आशुतोष राङ्कासहित अन्य केही नेता पनि पक्राउ परेका छन् ।
मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै पार्टीको नेतृत्वमा जन्तरमन्तरतर्फ अघि बढ्ने क्रममा एक हजार पाँच सयभन्दा बढी युवा प्रदर्शनकारी पक्राउ परेको दिल्ली प्रहरी स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
मुख्य निर्वाचन आयुक्तको राजीनामा नआएसम्म प्रदर्शन जारी राख्ने पार्टीले जनाएको छ । मतदाता नामावलीबाट ठूलो सङ्ख्यामा मतदाताको नाम हटाइएको आरोप प्रदर्शनकारीले लगाएका छन् । तर भारतको निर्वाचन आयोगले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ ।
यसैबीच, भारतीय लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले प्रदर्शनप्रति ऐक्यबद्धता जनाउनुभएको छ । उहाँले संविधानको रक्षा र भारतीय नागरिकको आवाजको सुरक्षाका लागि आफ्नो सङ्घर्ष निरन्तर रहने बताउनुभएको छ । 

प्रतिकृया दिनुहोस