भारतमा निर्वाचन आयुक्त हटाउन माग गर्दै प्रदर्शन जारी रहने


बिर्तामोड, २५ असोज  । 
भारतको कक्रोच जनता पार्टीको आह्वानमा भएको प्रदर्शन आज पनि जारी रहने भएको छ । हिजो दिल्लीको जन्तरमन्तरमा प्रहरीले प्रदर्शनकारीमाथि धरपकड गरे पनि विभिन्न स्थानमा सयौँ युवा भेला भएर प्रदर्शन गरेका छन् । दिल्ली हाट र सफदरजंग फ्लाइओभरलगायत क्षेत्रमा समेत प्रदर्शन भएको जनाइएको छ ।
पार्टीका नेता अजिंक्य शिन्देले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई पदबाट नहटाएसम्म जन्तरमन्तरमा दैनिक मार्च गर्ने घोषणा गर्नुभएको छ । उहाँका अनुसार शनिबार चार हजारभन्दा बढी प्रदर्शनकारीसहित विपक्षी गठबन्धनका नेता अरविन्द केजरीवाल, ममता बनर्जी, पिनारायी विजयन र माणिक सरकारलाई हिरासतमा लिइएको थियो ।
यस घटनाप्रति संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयले चिन्ता व्यक्त गरेको छ । कार्यालयले शान्तिपूर्ण प्रदर्शनको अधिकारको सम्मान गर्न, प्रहरीलाई संयम अपनाउन र गैरकानुनी रूपमा हिरासतमा लिइएकालाई तत्काल रिहा गर्न भारतीय अधिकारीहरूलाई आग्रह गरेको छ ।
विपक्षी नेता राहुल गान्धीले भिडियो सन्देशमार्फत सरकारको कदमको आलोचना गर्दै गिरफ्तारी र प्रहरी परिचालनबाट आफूहरू पछि नहट्ने बताउनुभएको छ । उहाँले संविधान र जनताको आवाजको रक्षाका लागि सङ्घर्ष जारी राख्ने बताउनुभएको छ । यसप्रति भारतीय जनता पार्टीका नेता सम्बित पात्रा र रविशंकर प्रसादले पत्रकार सम्मेलनमार्फत आलोचना गर्नुभएको छ ।
यसैबीच, पर्यावरण तथा शिक्षा कार्यकर्ता सोनम वाङ्चुकले वर्तमान अवस्थालाई ‘अघोषित आपत्काल’को संज्ञा दिँदै हिरासतमा लिइएका नेता तथा प्रदर्शनकारीलाई आइतबारसम्म रिहा नगरे अनिश्चितकालीन आमरण अनशन वा पदयात्रा सुरु गर्ने चेतावनी दिनुभएको छ । 


 

प्रतिकृया दिनुहोस