ट्रम्पद्वारा युक्रेनमा नयाँ राष्ट्रपति चयन गर्न सुझाव
वासिङ्टन, २५ असोज (रासस/एपी) ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न पर्याप्त पहल नगरेको आरोप लगाउँदै युक्रेनमा नयाँ राष्ट्रपति आवश्यक रहेको बताउनुभएको छ ।
शनिबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले रुससँग सम्झौता गर्न सक्ने नयाँ नेतृत्व युक्रेनले खोज्नुपर्ने धारणा व्यक्त गर्नुभयो । जेलेन्स्कीसँग युद्ध अन्त्य गर्ने धेरै अवसर भए पनि उहाँले त्यसको उपयोग गर्न नसकेको ट्रम्पको आरोप छ ।
ट्रम्पले अमेरिकामा डिजेलको मूल्य बढ्नुमा पनि जेलेन्स्कीलाई दोष दिनुभएको छ । युक्रेनले रुसी ऊर्जा पूर्वाधारमा आक्रमण गर्दा अन्तर्राष्ट्रिय बजारमा इन्धन आपूर्तिमा असर परेको र त्यसको मार अमेरिकी किसान, पशुपालक तथा व्यवसायीले खेप्नुपरेको उहाँको दाबी छ ।
यसैबीच, ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग रुसबाट डिजेल खरिद गर्ने सहमति गर्नुभएको छ । अमेरिकामा बढ्दो इन्धन मूल्य नियन्त्रण गर्ने उद्देश्यले गरिएको यस सहमतिलाई रुसप्रतिको अमेरिकी नीतिमा महत्त्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ ।
तर, रुसबाट इन्धन खरिद गर्दा प्राप्त आम्दानी युक्रेनविरुद्धको युद्धमा प्रयोग हुन सक्ने भन्दै युक्रेनी तथा युरोपेली अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । रुसले सन् २०२२ मा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि अमेरिका र युरोपेली सहयोगीहरूले रुसमाथि विभिन्न आर्थिक प्रतिबन्ध लगाएका थिए ।
यता, डिजेलको मूल्य बढ्नुमा युक्रेनको गतिविधि मात्रै जिम्मेवार नरहेको विश्लेषण गरिएको छ । मध्यपूर्वमा इरानसँग सम्बन्धित युद्धका कारण तेल आपूर्तिमा आएको अवरोधले पनि विश्व बजारमा इन्धनको मूल्य बढाएको छ ।
ट्रम्पले आफू अमेरिकी राष्ट्रपति भएको भए रुस–युक्रेन युद्ध सुरु नै नहुने दाबीसमेत गर्नुभएको छ । उहाँको पछिल्लो अभिव्यक्ति र रुससँगको इन्धन खरिद सहमतिले अमेरिका–युक्रेन सम्बन्ध तथा युद्ध अन्त्यका लागि अपनाइने नीतिबारे थप बहस सिर्जना गरेको छ । ०००००






-(1).jpeg)


-1758972041.jpeg)


प्रतिकृया दिनुहोस