प्रहरी धरपकडपछि भारतीय युवा प्रदर्शनकारीको रणनीति फेरियो
नयाँदिल्ली, २७ असोज ।
भारतको राजधानी नयाँदिल्लीमा चुनावी प्रदर्शनका क्रममा प्रहरीले धरपकड तीव्र बनाएपछि युवा प्रदर्शनकारीहरूले निगरानीबाट बच्दै आन्दोलन जारी राख्न नयाँ रणनीति अपनाएका छन् ।
प्रदर्शनकारीहरूले मुखुन्डो लगाउने, प्रहरीका सवारीसाधनको गतिविधि निगरानी गर्ने र पक्राउ परेकालाई सहयोग गर्न डिजिटल सञ्जाल परिचालन गर्ने गरेका छन् । जन्तर मन्तरस्थित मुख्य प्रदर्शनस्थलमा दशौँ हजार सुरक्षाकर्मी परिचालन गरिएपछि उनीहरूले अन्य स्थानमा भेला भएर प्रदर्शन गर्न थालेका हुन् । सप्ताहन्तमा हजारौँ प्रदर्शनकारी पक्राउ परे पनि आन्दोलन रोकिएको छैन । पक्राउ परेकामध्ये धेरैलाई पछि रिहा गरिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ दललाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरिएको आरोप लगाउँदै प्रदर्शनकारीहरूले निर्वाचन आयोगका प्रमुखको राजीनामा मागेका छन् । निर्वाचन आयोगले भने उक्त आरोप अस्वीकार गरेको छ ।
प्रदर्शनका क्रममा पक्राउ परेकालाई सहयोग गर्न सामग्री निर्माता मेघनाद एसले करिब एक सय ७० स्वयंसेवकको सञ्जाल बनाउनुभएको छ । उहाँहरूको समूहले पक्राउ परेकालाई कहाँ लगिएको छ भन्ने जानकारी सङ्कलन गरी ह्वाट्सएप समूह र अन्य डिजिटल माध्यमबाट स्वयंसेवक परिचालन गर्ने गरेको छ । उनीहरूले पक्राउ परेकालाई खाना, पानी, इन्धन र आवश्यकताअनुसार चिकित्सकीय सहायता उपलब्ध गराउँदै आएका छन् ।
यस्तै, विद्यार्थी नेतृ नेहा बोहरासँग अनुहार मिल्ने एक महिलालाई प्रहरीले पक्राउ गरेपछि उहाँ चर्चामा आउनुभएको छ । प्रहरीको घेराबाट उम्केर मध्यदिल्ली पुग्न सफल बोहराले पछि आफूजस्तै देखिने महिलासँगको तस्बिर सार्वजनिक गर्दै उक्त समानता संयोग मात्र भएको बताउनुभएको छ । केही प्रदर्शनकारीले प्रहरीको नियन्त्रणबाट उम्कन बसको चालक बस्ने ठाउँ वा पछाडिको झ्यालबाट निस्कने प्रयास गरेका छन् । पहिचान लुकाउन कतिपयले ब्याटम्यानका मुखुन्डोसमेत लगाएका छन् । बलिउड अभिनेत्री रिचा चढ्ढाले पनि अनुहार पहिचान गर्ने क्यामेराबाट बच्न मेकअप प्रयोग गर्न सुझाव दिनुभएको छ ।
प्रहरीको कडा निगरानी र धरपकडबीच भारतीय युवा प्रदर्शनकारीहरूले सामाजिक सञ्जाल र डिजिटल प्रविधिको सहायताले आन्दोलनलाई निरन्तरता दिने प्रयास गरिरहेका छन् । ०००००








-1758972041.jpeg)



प्रतिकृया दिनुहोस