रुसी डिजेल निर्यातले इन्धनको मूल्य घटाउनेमा ईयू सशङ्कित

बिर्तामोड, २८ असोज । 
युरोपेली सङ्घका अर्थ मामिला प्रमुख भल्डिस डोम्ब्रोभ्स्किसले रुसलाई डिजेल निर्यात गर्न अमेरिकाले अनुमति दिए पनि विश्व बजारमा इन्धनको मूल्य उल्लेख्य रूपमा घट्नेमा आशङ्का व्यक्त गर्नुभएको छ ।
इरानविरुद्ध फेब्रुअरी २८ मा युद्ध सुरु भएपछि विश्व बजारमा इन्धनको मूल्य बढेको छ । मूल्य नियन्त्रण गर्ने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीपछि रुसले विश्व बजारमा ठूलो परिमाणमा डिजेल उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।
थाइल्याण्डको बैंककमा जारी अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको वार्षिक बैठकका क्रममा समाचार संस्था एएफपीसँग कुरा गर्दै डोम्ब्रोभ्स्किसले प्रस्तावित निर्यातको परिमाणले विश्व अर्थतन्त्रमा उल्लेखनीय प्रभाव पार्ने सम्भावना कम रहेको बताउनुभयो । रुसले आवश्यक परिमाणमा डिजेल आपूर्ति गर्न सक्ने र त्यसले अमेरिकी गुणस्तर मापदण्ड पूरा गर्ने विषयमा समेत उहाँले प्रश्न उठाउनुभयो । 
डोम्ब्रोभ्स्किसले युक्रेनलाई आर्थिक सहयोग बढाउन युरोपेली सङ्घले अन्तर्राष्ट्रिय साझेदारहरूसँग छलफल गर्ने जानकारी दिनुभयो ।
यसैबीच, उहाँले युरोपेली सङ्घ र चीनबीचको व्यापार असन्तुलनप्रति चिन्ता व्यक्त गर्नुभएको छ । गत वर्ष चीनसँगको व्यापार घाटा करिब तीन खर्ब ६० अर्ब युरो पुगेको उल्लेख गर्दै उहाँले व्यापार सम्बन्धलाई सन्तुलित बनाउनुपर्ने बताउनुभयो । व्यापार तनाव कम गर्ने सहमतिअन्तर्गत सन् २०२७ देखि चीनबाट आयात हुने हाइब्रिड सवारीसाधनको वार्षिक सङ्ख्या तीन लाख ५० हजारमा सीमित गर्ने व्यवस्था गरिएको जनाइएको छ ।
फ्रान्सको सरकारी ऋणपत्रको प्रतिफल बढिरहेको विषयमा पनि उहाँले चिन्ता व्यक्त गर्नुभयो। बजेटसम्बन्धी अनिश्चितता हटाउन फ्रान्सले प्रस्तावित बजेट पारित गर्नु महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।
मध्यपूर्वको द्वन्द्वका कारण मुद्रास्फीतिको दबाब लामो समयसम्म कायम रहन सक्ने भन्दै डोम्ब्रोभ्स्किसले युरोपेली आयोगले सन् २०२७ का लागि मुद्रास्फीतिसम्बन्धी पूर्वानुमान बढाउन सक्ने बताउनुभयो । ००००० 
 

प्रतिकृया दिनुहोस