गगनकुमार थापाको नेतृत्वमा नेपाली कांग्रेसमा पुस्तान्तरण र रूपान्तरणको चुनौती

काठमाडौँ, २९ असोज । 
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा ६ हजार ५८४ मतसहित सभापतिमा निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभयो । सुरुमा तीन जनाको उम्मेदवारी परे पनि किशोरसिंह राठौरले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिनुभएको थियो ।
थापाको नेतृत्व चयनसँगै कांग्रेसमा पुस्तान्तरण र रूपान्तरणको बहसले नयाँ दिशा लिएको छ । विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा र पुष्पा भुसाल उपसभापतिमा निर्विरोध चयन हुनुभएको छ । खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा समावेशी उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित हुनुभएको छ ।
महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डा. डिला सङ्ग्रौला निर्वाचित हुनुभएको छ । सङ्ग्रौला कांग्रेसको पहिलो निर्वाचित महिला महामन्त्री बन्नुभएको छ । सहमहामन्त्रीका विभिन्न पदमा पनि महिला, दलित, आदिवासी जनजाति, मुस्लिम तथा अन्य समूहको प्रतिनिधित्व भएको छ ।
कांग्रेसले विधान संशोधन गरी केन्द्रीय कार्यसमितिको आकार १६४ बाट बढाएर २९७ सदस्यीय बनाएको छ । प्रतिनिधित्व विस्तार गर्ने उद्देश्यले गरिएको यो निर्णयले पार्टीभित्र बहससमेत सिर्जना गरेको छ । राजनीतिक विश्लेषक सौगात गौतमले ठूलो समिति बनाउँदैमा प्रतिनिधित्व र समावेशिता स्वतः बलियो नहुने बताउनुभएको छ ।
विश्लेषक गेजा शर्मा वाग्लेले नयाँ नेतृत्वसँगै कांग्रेसले पुनर्जीवन पाउने सम्भावना रहेको बताउनुभएको छ । तर, जनताको विश्वास फर्काउन पार्टीको नीति, सङ्गठन र कार्यशैलीमा ठोस परिवर्तन आवश्यक रहेको उहाँको भनाइ छ ।
नयाँ नेतृत्वका लागि आन्तरिक एकता कायम गर्ने, सङ्गठनलाई प्रभावकारी बनाउने र जनअपेक्षाअनुसार परिणाम दिने चुनौती छ । नेतृत्व परिवर्तनलाई वास्तविक रूपान्तरणमा बदल्न थापा नेतृत्वले परिणाममुखी काम गर्नुपर्ने देखिएको छ । ०००००
 

प्रतिकृया दिनुहोस