एमाले अध्यक्ष ओलीद्वारा इन्स्पायरको वेबसाइट सार्वजनिक

काठमाडौँ, २९ असोज । 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल ‘इन्स्पायर’ को वेबसाइट सार्वजनिक गर्नुभएको छ ।
इन्स्पायरका अध्यक्ष विष्णु रिमालका अनुसार प्रतिष्ठानले नेपालका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक तथा भूराजनीतिक चुनौतीबारे अध्ययन र अनुसन्धान गर्दै आएको छ । नीति निर्माता र विषयविज्ञलाई एकै ठाउँमा ल्याएर नीतिगत छलफल अघि बढाउनुका साथै ज्ञान उत्पादन र रणनीतिक बहसलाई सहजीकरण गर्ने प्रतिष्ठानको उद्देश्य रहेको उहाँले बताउनुभयो ।
नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध वेबसाइटमा अर्थराजनीति, समाज अध्ययन, प्राकृतिक स्रोत, प्रविधि तथा नवप्रवर्तन र परराष्ट्र मामिलासम्बन्धी सामग्री समावेश छन् । वेबसाइटमा यसअघि प्रतिष्ठानले आयोजना गरेका नीति बहसका आठ वटा कार्यपत्र र चार वटा विशेष प्रतिवेदनसमेत प्रकाशित गरिएका छन् ।
वेबसाइटमा जनताको बहुदलीय जनवाद, बदलिँदो जनसाङ्ख्यिक संरचना, नेपाली समाजको रूपान्तरण, उत्पादन सम्बन्ध, राष्ट्रिय सुरक्षा नीति, विश्व अर्थराजनीति, शक्ति सन्तुलन, आप्रवासन र समाजको वर्ग विश्लेषणलगायत विषयका अध्ययन सामग्री राखिएका छन् । यसका साथै ‘किताबका कुरा’ र ‘युथ इग्नाइट’ जस्ता सामग्री पनि समावेश छन् ।
इन्स्पायरका कार्यकारी निर्देशक आशिष रेग्मीले वेबसाइटमा प्रकाशित सामग्रीमाथि हुने नीतिगत बहसबाट प्राप्त नयाँ विचारलाई ‘पोलिसी ल्याब’मा समेटिने जानकारी दिनुभयो ।
अध्यक्ष रिमालले राजनीतिक वृत्तबाहिर भइरहेका बहस र समाजका विभिन्न विषयलाई राजनीतिको मूल प्रवाहमा ल्याउँदै एमालेलाई नीतिगत रूपमा बलियो बनाउने प्रयासस्वरूप वेबसाइट सञ्चालनमा ल्याइएको बताउनुभयो ।
वेबसाइटमा प्रकाशित सामग्रीबारे विभिन्न विज्ञहरूले समेत आ–आफ्ना धारणा राख्नुभएको थियो । ०००००

प्रतिकृया दिनुहोस