विश्व राजनीतिमा हस्तक्षेप र सत्ता परिवर्तनको स्वरूप फेरिएको एमाले अध्यक्ष ओलीको टिप्पणी
काठमाडौँ, २९ असोज ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्व राजनीतिमा शोषण, नियन्त्रण र हस्तक्षेपको स्वरूपमा असाधारण परिवर्तन आएको बताउनुभएको छ ।
आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल ‘इन्स्पायर’ को वेबसाइट सार्वजनिक गर्दै अध्यक्ष ओलीले लोकतन्त्रका जनक र रक्षक दाबी गर्नेहरूबाटै अलोकतान्त्रिक तथा षड्यन्त्रमूलक ढङ्गले सत्ता परिवर्तन गराउने गतिविधि भइरहेको आरोप लगाउनुभयो ।
उहाँले सरकार हटाउने र नयाँ सरकार स्थापना गर्ने गतिविधि पहिलेको भन्दा फरक स्वरूपमा भइरहेको उल्लेख गर्दै यसबारे गम्भीर अध्ययन र अनुसन्धान आवश्यक रहेको बताउनुभयो । शक्तिशाली राष्ट्रहरूले आफ्नो अनुकूलका सरकार स्थापना गर्न खोज्ने प्रवृत्तिको अनुसन्धान हुनुपर्ने उहाँको भनाइ थियो ।
अध्यक्ष ओलीले लोकतन्त्रको व्यापक अभ्यास र समावेशिताको चर्चा भइरहेका बेला लोकतान्त्रिक प्रक्रियामाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना भएको टिप्पणी गर्नुभयो। उहाँले लोकप्रिय व्यक्तिलाई रातारात अलोकप्रिय बनाउने र अलोकप्रिय व्यक्तिलाई लोकप्रिय बनाउने प्रवृत्ति अन्य देशमा समेत देखिएको बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारसँग सम्बन्धित भनिएको अडियोको प्रसङ्ग उल्लेख गर्दै उहाँले यस्तो प्रवृत्तिलाई खतरनाक भएको टिप्पणी गर्नुभयो ।
विश्व व्यवस्थामा देखिएका यस्ता गतिविधिको सबैभन्दा ठूलो असर नेपालजस्ता देशले भोग्नुपर्ने अध्यक्ष ओलीको भनाइ थियो ।
कार्यक्रममा सार्वजनिक गरिएको इन्स्पायरको वेबसाइटमार्फत नेपालका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रविधिगत तथा भूराजनीतिक चुनौतीबारे अध्ययन र अनुसन्धान गर्ने प्रतिष्ठानको लक्ष्य रहेको एमाले नेताहरूले बताएका छन् । ०००००





-1758972041.jpeg)



प्रतिकृया दिनुहोस