नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै
बिर्तामोड, ३० असोज ।
दुर्गा पक्ष अर्थात् बडादसैँको छैटौँ दिन आज नवदुर्गामध्येकी छैटौँ देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । वैदिक सनातन परम्पराअनुसार आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको पूजा गर्ने चलन छ । नवरात्रका अवसरमा दसैँघर तथा पूजा कोठामा दुर्गा सप्तशती, चण्डी र देवी स्तोत्र पाठ गरी देवीको आराधना गर्ने गरिन्छ । देवीको पूजा आराधनाबाट शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखिएको थियो। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाता देवीको पूजा गरिएको थियो। आज छैटौँ दिन कात्यायनी देवीको पूजा गरिँदैछ भने बाँकी दिन कालरात्रि, महागौरी र सिद्धिदात्री देवीको आराधना गरिनेछ ।
यसैबीच, नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, भद्रकाली, मैतीदेवी र शोभाभगवतीलगायत मन्दिरमा भक्तजनको चहलपहल बढेको छ । उपत्यकाबाहिरका मनकामना, पाथीभरा, गढीमाई, छिन्नमस्ता, दन्तकाली र बागलुङ कालिकालगायत शक्तिपीठमा पनि भक्तजनले पूजा आराधना गरिरहेका छन् ।
नवरात्रका नौ दिन पूजा गरिएको जमरा र प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ । कतिपय समुदायमा भने कुल परम्पराअनुसार विजयादशमीका दिनमात्र टीका र जमरा लगाउने चलन छ । यसरी नेपालीले विभिन्न धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार बडादसैँ पर्व मनाउँदै आएका छन् ।










प्रतिकृया दिनुहोस