बाढीले क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

बिर्तामोड, ३० असोज । 
भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुल मर्मतपछि पुनः सञ्चालनमा ल्याइएको छ । स्थानीय पूर्वाधार विकास विभागअन्तर्गतको झोलुङ्गे पुल डिभिजन कार्यालयका अनुसार बाढीले त्रिशूली करिडोरका पुलमा क्षति पु¥याएको थियो । कार्यालयका योजना प्रमुख सहसचिव शङ्कर बुढाथोकीले सबै पुल मर्मत गरी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार ११ वटा पुलमा लट्ठा बटारिने, पुलको डेक तथा बिम बगाउने र छेउको जालीमा क्षति पुग्ने समस्या देखिएको थियो । ती पुलमा लट्ठा सोझ्याउने, ह्यान्डरेलका तार फेर्ने, नयाँ स्टिल डेक तथा बिम जडान गर्ने र जाली राख्नेलगायतका काम गरिएको छ । बाँकी सातवटा पुलमा सामान्य मर्मत गरिएको उहाँले बताउनुभयो ।
पुल मर्मतमा करिब साढे पाँच करोड रुपैयाँ खर्च भएको छ ।
मर्मत गरिएका पुल नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका विभिन्न स्थानीय तह जोड्ने खालका छन् । यी पुल सञ्चालनमा आएपछि नदी वारपार गर्ने स्थानीय बासिन्दाको आवागमन सहज हुने अपेक्षा गरिएको छ । 

प्रतिकृया दिनुहोस