नेपालको वैदेशिक व्यापारमा वीरगञ्ज भन्सारको हिस्सा झण्डै ५० प्रतिशत

काठमाडौँ, १५ कात्तिक ।
नेपालको वैदेशिक व्यापार २८ वटा भन्सार विन्दुबाट सञ्चालन हुँदै आए पनि आयात–निर्यातको ठूलो हिस्सा वीरगञ्ज भन्सारमा केन्द्रित भएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा भएको कुल आयातमध्ये वीरगञ्ज भन्सारको हिस्सा ४८ प्रतिशतभन्दा बढी रहेको छ ।
भन्सार विभागका अनुसार साउनदेखि असोजसम्म नेपालमा ६ खर्ब ४६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । त्यसमध्ये वीरगञ्ज भन्सारबाट मात्रै तीन खर्ब १२ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु भित्रिएको छ । यस नाकाबाट पेट्रोलियम पदार्थको ठूलो हिस्सा आयात हुने गरेको छ ।
आयातका आधारमा भैरहवा दोस्रो र विराटनगर तेस्रो स्थानमा रहेका छन् । भैरहवा नाकाबाट ९८ अर्ब ८१ करोड र विराटनगरबाट ७८ अर्ब ३३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५१ अर्ब ६२ करोड, नेपालगञ्जबाट २३ अर्ब ९१ करोड, मुस्ताङबाट २२ अर्ब ३ करोड र मेची भन्सारबाट २१ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको विभागले जनाएको छ ।
यस अवधिमा वीरगञ्ज नाकाबाट ४७ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । कुल निर्यात भने एक खर्ब १४ अर्ब रुपैयाँ बराबर रहेको छ ।
गत भदौ १० गतेको बाढीले नेपाल–चीन व्यापारिक नाका प्रभावित बनाएपछि वैदेशिक व्यापार थप भारततर्फका नाकामा केन्द्रित भएको छ । रसुवागढी नाकामा बाढीको क्षति र मुस्ताङ नाकासमेत प्रभावित भएपछि चोभारस्थित सुक्खा बन्दरगाहको व्यापारिक गतिविधिसमेत घटेको छ । चोभारबाट तीन महिनामा चार अर्ब १४ करोड रुपैयाँ बराबरको मात्रै वस्तु आयात भएको छ । ०००००
 

प्रतिकृया दिनुहोस