सात वर्षको अनुभवपछि आफ्नै बङ्गुर फार्म, ३५ लाख लगानीमा व्यवसाय सुरु

बिर्तामोड, ७ मंसिर । 
म्याग्दीका मेघबहादुर शेरपुञ्जाले करिब ३५ लाख रुपैयाँ लगानीमा व्यावसायिक बङ्गुरपालन सुरु गर्नुभएको छ ।
बेनी नगरपालिका–७ मङ्गलाघाटमा रहेको उहाँको फार्ममा अहिले सानाठूला गरी करिब ९५ वटा बङ्गुर छन् । सात वर्षसम्म अरुको फार्ममा काम गरेर सीप र अनुभव हासिल गर्नुभएका शेरपुञ्जाले एक वर्षदेखि आफ्नै व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ ।
हाइग्रेड, ल्यान्डरेस र डिउरोक जातका बङ्गुर पाल्दै आउनुभएका उहाँले १० वटा बङ्गुर बिक्रीका लागि तयार गर्नुभएको छ । उत्पादित मासु प्रतिकिलो सात सय रुपैयाँमा बिक्री हुँदै आएको छ । बजारको समस्या हुन नदिन उहाँले बेनीको इन्द्रेणीटोलमा ‘मुना बङ्गुर मासु पसल’ समेत सञ्चालन गर्नुभएको छ । फार्ममा उत्पादन भएका बङ्गुरको मासु सिधै उपभोक्तासम्म पु¥याउने उहाँको योजना छ । कृषि तथा पशुपालनमा बजार सुनिश्चितता मुख्य चुनौती रहेको उल्लेख गर्दै शेरपुञ्जाले किसानलाई सहुलियत, प्राविधिक सहयोग र बजारको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभएको छ । स्वदेशमै रोजगारी र उद्यमको वातावरण बनाउन सके युवालाई विदेशिनबाट रोक्न सकिने उहाँको भनाइ छ । 
 

प्रतिकृया दिनुहोस