बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा कर्जा प्रवाहमा वृद्धि

विर्तामोड, २९ वैशाख ।
राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा कर्जा प्रवाह बढेको देखाएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको नौ महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा तीन खर्ब ६१ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाहित भएको राष्ट्र बैंकले जनाएको छ ।
यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७ दशमलव १ प्रतिशतले बढी हो ।
गत वर्षको सोही अवधिमा निजी क्षेत्रमा दुई खर्ब २२ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
त्यसैगरी, चालु आर्थिक वर्षको नौ महिनामा बैंक तथा वित्तीय संस्थाले जम्मा तीन खर्ब ६८ अर्ब ४७ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेका छन् ।
यससँगै चैत मसान्तसम्ममा कुल निक्षेप ५९ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ ।
कुल निक्षेपमध्ये, बचत खातामा २१ खर्ब ६८ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । बचत खातामा औसत ३ दशमलव ३९ प्रतिशत ब्याजदर दिइँदै आएको छ । मुद्दती खातामा भने २९ खर्ब ९८ अर्ब २९ करोड रुपैयाँ जम्मा भएको छ । मुद्दती खातामा औसत ब्याजदर ६ दशमलव १० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
२०७९ सालको पुष महिनामा मुद्दती खाताको औसत ब्याजदर ११ दशमलव ४३ प्रतिशत थियो ।
तर पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता प्रशस्त हुँदै गएपछि ब्याजदरमा क्रमशः गिरावट आएको देखिएको छ । ००००००
प्रतिकृया दिनुहोस