तेह्रथुम अस्पतालमा सिजेरियन सेवा ठप्प, गर्भवतीलाई ६ घण्टासम्मको यात्रा
तेह्रथुम, २३ साउन ।
जिल्ला अस्पताल तेह्रथुममा सिजेरियन अर्थात् शल्यक्रियामार्फत प्रसूति सेवा ठप्प हुँदा गर्भवती र उनका परिवार समस्यामा परेका छन् ।
गत असार मसान्तदेखि आवश्यक जनशक्तिको अभावमा सेवा बन्द भएपछि सिजेरियन आवश्यक पर्ने गर्भवतीलाई धरान, विराटनगरलगायत तराईका अस्पतालमा लैजानुपर्ने बाध्यता भएको छ । ६ घण्टाको सडक यात्रापछि मात्रै सुविधासम्पन्न अस्पताल पुग्नुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ ।
म्याङलुङकी निर्मला श्रेष्ठलाई प्रसूति व्यथा लागेपछि जिल्ला अस्पताल ल्याइए पनि शल्यक्रिया आवश्यक पर्न सक्ने भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ । परिवारले ईभी गाडी रिजर्भ गर्दा १० हजार रुपैयाँ खर्च भएको जनाएको छ ।
अस्पतालका अनुसार विगत १० वर्षदेखि ‘निक साइमन’ संस्थाको सहयोगमा सिजेरियन सेवाका लागि आवश्यक जनशक्ति व्यवस्थापन हुँदै आएको थियो । परियोजना समाप्त भएपछि सेवा बन्द भएको हो ।
सामान्य अवस्थामा महिनामा ३० देखि ३५ जनाले प्रसूति सेवा लिने गरेकामा अहिले सङ्ख्या घटेको छ । आर्थिक वर्ष २०८२÷८३ मा अस्पतालबाट ४४ जनाको सिजेरियन गरिएको थियो ।
सेवा पुनः सञ्चालनका लागि एमडिजिपी चिकित्सक उपलब्ध गराउन प्रदेश स्वास्थ्य मन्त्रालयसँग माग गरिएको र एनेस्थेसिया जनशक्ति अस्पताल विकास कोषबाट व्यवस्थापन गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । ०००००









प्रतिकृया दिनुहोस