अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु पर्यटकको रोजाइमा
सुनसरी, २८ साउन ।
सुनसरी, सप्तरी र उदयपुरको बीचमा फैलिएको कोशी टप्पु वन्यजन्तु आरक्ष दुर्लभ अर्ना, सयौँ प्रजातिका चराचुरुङ्गी र जैविक विविधताका कारण आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।
सप्तकोशी नदीले बनाएको टापुमा अवस्थित आरक्ष नेपालमा प्राकृतिक रूपमा पाइने जङ्गली भैँसी अर्थात् अर्नाको मुख्य बासस्थानका रूपमा परिचित छ । सन् १९७६ मा ६३ वटा अर्ना रहेकोमा २०२१ को गणनामा यसको सङ्ख्या बढेर ४ सय ९८ पुगेको आरक्षले जनाएको छ ।
सन् १९८७ देखि रामसार सूचीमा सूचीकृत कोशी टप्पुमा ४२ प्रजातिका स्तनधारी, ५ सय ३५ प्रजातिका पन्छी, १ सय ४१ प्रजातिका माछा र ७७ प्रजातिका पुतली पाइन्छन् । यस्तै, २०८० को गणनामा ३२ वटा खरमयूर र २०७९ को गणनामा १९ वटा डल्फिन अभिलेख गरिएको छ ।
साइबेरिया, चीन, मङ्गोलिया र मध्य एसियाबाट जाडो छल्न आउने प्रवासी चराका कारण कोशी टप्पु पन्छी अवलोकनका लागि समेत महत्वपूर्ण गन्तव्य बनेको छ । चराविज्ञहरूले कोशी टप्पुलाई उत्तरी गोलाद्र्धबाट आउने चराहरूको प्रमुख विश्रामस्थलका रूपमा लिने गरेका छन् ।
आरक्षमा जङ्गली हात्ती, एकसिङ्गे गैँडा, नीलगाई, चितल, घडियाल, मगरगोही र अजिङ्गरलगायतका वन्यजन्तु पनि पाइन्छन् । हरियाली, घाँसे मैदान, नदी प्रणाली र जलचरको उपस्थितिले कोशी टप्पुलाई प्रकृति तथा वन्यजन्तु पर्यटनका लागि विशिष्ट गन्तव्य बनाएको छ ।
आरक्ष कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ११ हजार ६ सय ३ पर्यटकले कोशी टप्पु भ्रमण गरेका थिए। तीमध्ये ११ हजार २ सय १४ जना आन्तरिक, ८७ जना सार्क मुलुकका र ३ सय २ जना अन्य विदेशी पर्यटक थिए ।
चालु आर्थिक वर्ष २०८२÷८३ को जेठ मसान्तसम्म मात्रै ९ हजार २ सय ४२ पर्यटकले आरक्ष भ्रमण गरिसकेका छन् । यसले पछिल्ला वर्षमा कोशी टप्पुप्रति पर्यटकको आकर्षण बढ्दै गएको देखाएको छ ।
प्रकृति पर्यटन, पन्छी अवलोकन, वन्यजन्तु सफारी, फोटोग्राफी तथा स्थानीय संस्कृति अनुभवका लागि कोशी टप्पुमा ठूलो सम्भावना रहेको स्थानीय व्यवसायीले बताएका छन् । तर, सीमित आवास सुविधा, कमजोर सडक पहुँच, पर्यटकीय पूर्वाधारको कमी, प्रभावकारी प्रचारप्रसार र पर्याप्त लगानीको अभावका कारण सम्भावना अनुसार पर्यटन विकास हुन नसकेको उनीहरूको भनाइ छ ।
स्थानीय व्यवसायीका अनुसार व्यवस्थित होमस्टे, जङ्गल सफारी, प्रकृति पदयात्रा र स्थानीय संस्कृति तथा खानपानलाई पर्यटनसँग जोड्न सके कोशी टप्पुमा पर्यटकको बसाइ लम्ब्याउन र स्थानीय अर्थतन्त्रमा थप योगदान पु¥याउन सकिन्छ ।
दुर्लभ अर्ना, प्रवासी चराचुरुङ्गी, जलचर, घाँसे मैदान र स्थानीय संस्कृति कोशी टप्पुको प्रमुख सम्पत्ति भएकाले संरक्षणसँगै योजनाबद्ध पर्यटन विकास गर्न सके यो क्षेत्र पूर्वी नेपालको महत्वपूर्ण प्राकृतिक पर्यटकीय गन्तव्य बन्न सक्ने देखिन्छ । ०००००










प्रतिकृया दिनुहोस