कांग्रेसमा एकताको आह्वान गर्दै देउवा स्वदेश फिर्ता
काठमाडौं, २८ साउन ।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र एकता कायम गर्न आह्वान गर्नुभएको छ । करिब साढे पाँच महिनापछि काठमाडौं फर्किनुभएका देउवाले आफू सत्ता प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्न सक्रिय हुन स्वदेश फर्किएको बताउनुभएको हो ।
देउवाले कांग्रेस एकताबद्ध भएर देशका अन्य क्रियाशील राजनीतिक दलसँग सहमति र सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । उहाँले पार्टीभित्र देखिएका असहमति र निराशा तत्काल समाधान गर्नुपर्ने बताउनुभएको छ ।
मुलुकको प्रमुख राजनीतिक दलमा विवाद हुँदा राष्ट्रियता नै कमजोर हुन सक्ने भन्दै देउवाले कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक र मतदातालाई सामूहिक भावनाका साथ अघि बढ्न अपिल गर्नुभएको छ ।
कांग्रेस कसैको व्यक्तिगत इगोमा नभई जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । देउवाले पार्टीभित्र सबैले त्याग, बलिदान र सङ्घर्षको भावना स्वीकार गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
वि.सं. २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको प्रसङ्ग स्मरण गर्दै देउवाले अहिले पनि सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको बताउनुभएको छ ।
उहाँले आफू नेता बन्न नभई महान् राष्ट्रको आजीवन नागरिकका रूपमा फर्किएको उल्लेख गर्दै राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र विधिको शासनप्रति आफ्नो अटुट प्रतिबद्धता दोहो¥याउनुभएको छ । ०००००










प्रतिकृया दिनुहोस