जापानिज इन्सेफ्लाइटिसबाट झापामा पाँचको मृत्यु, नौ जना सङ्क्रमित
विर्तामोड, २८ साउन ।
झापामा जापानिज इन्सेफ्लाइटिस अर्थात् जेई सङ्क्रमणबाट पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म नौ जनामा जेई सङ्क्रमण पुष्टि भएकामा पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
मृत्यु हुनेमा तीन पुरुष र दुई महिला छन् । सङ्क्रमितमध्ये मेचीनगरका तीन, बिर्तामोडका दुई तथा हल्दिबारी, बाह्रदशी, कचनकवल र अर्जुनधाराका एक–एक जना रहेका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार सङ्क्रमित अधिकांश ५० वर्षभन्दा माथिका छन् । जेई क्युलेक्स जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो। सङ्क्रमण भएपछि भाइरसले मस्तिष्कमा असर गर्ने गर्छ ।
सुँगुर र हाँसलाई जेई भाइरसका मुख्य स्रोत मानिन्छ । सुँगुर पालन गर्ने तथा धानखेत र पानी जम्ने क्षेत्र आसपास बसोबास गर्नेहरू सङ्क्रमणको उच्च जोखिममा रहने स्वास्थ्यकर्मीले बताएका छन् ।
स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेलले जेईबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्न तथा सरकारले सञ्चालन गर्ने नियमित खोप कार्यक्रममा सहभागी भएर जेईविरुद्धको खोप लगाउन आग्रह गर्नुभएको छ । ०००००










प्रतिकृया दिनुहोस