कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलामा आज पाँच प्रतिवेदन पेस हुँदै


बिर्तामोड, ३० साउन । 

नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलाको दोस्रो दिन आज शनिबार विभिन्न राजनीतिक, आर्थिक, सांगठनिक तथा विधानसम्बन्धी प्रतिवेदन पेस हुने भएका छन् । बिहान ७ बजेदेखि ९ बजेसम्म नास्ताका लागि समय छुट्याइएको छ । त्यसपछि बन्दसत्र सुरु हुनेछ ।
बन्दसत्रमा कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन तथा नेता एनपी साउदले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्नु हुनेछ ।
त्यस्तै, प्रकाशशरण महतले आर्थिक दृष्टिकोण, उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव तथा रमेश लेखकले विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गर्नुहुनेछ ।
भेलाको प्रचारप्रसार उपसमिति संयोजक मीन विश्वकर्माका अनुसार दिउँसो १२ बजेदेखि २ बजेसम्म खाना खाने समय छुट्याइएको छ । त्यसपछि बन्दसत्रमा पेस भएका प्रतिवेदनमाथि सहभागीहरूले छलफल गर्ने कार्यक्रम रहेको छ ।
संस्थापन इतर समूहको भेलालाई आगामी दिनमा पार्टीको संगठन, नीति तथा नेतृत्वका विषयमा साझा धारणा निर्माण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । 

प्रतिकृया दिनुहोस