सर्वोच्चबाट न्याय मिलेपछि पार्टी एक हुने देउवाको विश्वास 

काठमाडौं, ३० साउन ।
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र सम्पूर्ण रूपमा एकता हुनुपर्ने बताउनुभएको छ ।
आज महाराजगञ्जस्थित निवासमा भेट्न पुगेका पत्रकारहरूसँग कुराकानी गर्दै देउवाले आफू विशेष महाधिवेशनको पक्षमा नरहेको स्पष्ट पार्नुभयो । विशेष महाधिवेशनको निर्णयविरुद्ध आफूहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको भन्दै उहाँले अदालतबाट न्याय पाएपछि पार्टी एक हुने विश्वास व्यक्त गर्नुभयो ।
देउवाले आफूले विशेष महाधिवेशनलाई स्वीकार नगरेको र मुद्दा विचाराधीन रहेकाले अहिले धेरै बोल्न नहुने बताउनुभयो । उहाँले अदालतबाट न्याय पाउने र त्यसपछि पार्टी एकता हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो ।
अर्को प्रसङ्गमा देउवाले लोकतन्त्रका लागि स्वतन्त्र पत्रकारिता अत्यावश्यक रहेको बताउनुभयो । पत्रकारिता कुनै व्यक्ति वा समूहको पक्षमा नभई निष्पक्ष हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रेसले व्यक्तिपूजा नभई निष्पक्ष रूपमा काम गर्नुपर्ने बताउँदै देउवाले प्रेस स्वतन्त्रता लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण पक्षमध्ये एक भएको उल्लेख गर्नुभयो ।
पाँच महिनापछि स्वदेश फर्किनुभएका देउवाले आफूलाई सुदूरपश्चिम र विशेषगरी गृहजिल्ला डडेलधुरा जान मन लागेको पनि बताउनुभयो । सुदूरपश्चिमका जनताले आफूलाई सधैँ माया र समर्थन गरेको भन्दै उहाँले त्यहाँका दाजुभाइसँग भेट्ने र देवीदेवताको दर्शन गर्ने इच्छा व्यक्त गर्नुभयो ।
देउवाले सुदूरपश्चिमका लागि आफूले गर्नुपर्ने जति काम गर्न नसकेको समेत स्वीकार गर्नुभयो । डडेलधुरामा केही काम अझै बाँकी रहेको भन्दै उहाँले स्थानीयको मागअनुसार विमानस्थल निर्माणको काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ०००००
 

प्रतिकृया दिनुहोस