एलपी ग्यास अभाव चर्किएपछि काठमाडौंका पाँच स्थानबाट बिक्री
बिहानैदेखि वितरण केन्द्रमा उपभोक्ताको भीड, बबरमहलमा मात्रै एक हजारभन्दा बढी लाइनमा
काठमाडौं, ३० साउन ।
काठमाडौंमा खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट ग्यास बिक्री वितरण सुरु गरेको छ ।
निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा आजदेखि ग्यास उद्योग तथा डिपोमार्फत ग्यास वितरण थालेको हो ।
निगमका अनुसार टेकुस्थित निगम परिसर, चाबहिलस्थित यातायात कार्यालय परिसर, कीर्तिपुर र बसुन्धरास्थित राधास्वामी परिसर तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट ग्यास वितरण भइरहेको छ ।
बिक्री केन्द्रअनुसार फरक–फरक ब्रान्डका ग्यास उपलब्ध गराइएको निगमले जनाएको छ । ग्यास लिन तोकिएका केन्द्रमा बिहानैदेखि सर्वसाधारणको ठूलो भीड लागेको छ ।
तर, वितरण केन्द्रबाट ग्यास बिक्री सुरु भए पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन् । बबरमहलमा ग्यास लिन पुगेका उपभोक्ताले लामो समयसम्म लाइनमा बस्दा पनि ग्यास नपाएको बताएका छन् ।
निगमका कर्मचारी भीमप्रसाद पौडेलका अनुसार बबरमहल वितरण केन्द्रमा मात्रै एक हजारभन्दा बढी उपभोक्ता ग्यास लिन पुगेका छन् । निगमले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास वितरण गर्ने योजना बनाएको छ ।
बबरमहल केन्द्रबाट काठमाडौंका जुनसुकै क्षेत्रका उपभोक्ताले ग्यास लिन सक्ने व्यवस्था गरिएको छ । त्यहाँ करिब १० प्रकारका ग्यास सिलिन्डर उपलब्ध रहेको पौडेलले जानकारी दिनुभयो ।
निगमले ग्यास संकटका बेला डिपोसँग समन्वय गरी वितरणलाई सहज बनाउन सहजीकरण गरिरहेको जनाएको छ । साथै, ग्यासको कालोबजारी, लुकाउने तथा अनावश्यक भण्डारण गर्नेविरुद्ध अनुगमनसमेत तीव्र पारिएको छ ।
निगमले अत्यावश्यक परेका उपभोक्तालाई मात्र तोकिएको वितरण केन्द्र र समयमा पुगेर ग्यास खरिद गर्न आग्रह गरेको छ । ग्यास लिन जाने उपभोक्ताले अनिवार्य रूपमा परिचयपत्र साथमा लैजानुपर्नेछ । ०००००









प्रतिकृया दिनुहोस