कनकाईको विद्युतीय शवदाह गृह तयार, तर सञ्चालनमा आएन 

झापा, ३० साउन ।
झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब दुई करोड ५० लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको विद्युतीय शवदाह गृह लामो समय बितिसक्दा पनि नियमित सञ्चालनमा आउन सकेको छैन ।
निर्माण सम्पन्न भए पनि कनकाई नगरपालिकाले अहिलेसम्म शवदाह गृहको औपचारिक जिम्मेवारी लिएको छैन । सञ्चालनका लागि आवश्यक केही पूर्वाधार पूरा नभएको र विद्युत्को भोल्टेजमा समस्या देखिएपछि नगरपालिका तत्काल जिम्मेवारी लिने पक्षमा नरहेको हो ।
कोशी प्रदेश सरकारअन्तर्गतको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, कनकाई नगरपालिका र दाताको संयुक्त लगानीमा निर्माण गरिएको शवदाह गृहको परीक्षणसमेत गरिएको थियो । परीक्षणका क्रममा केही शव विद्युतीय प्रणालीबाट दहन गरिए पनि शव जल्न लाग्ने समय फरक–फरक देखिएको कनकाई घाट समितिका महासचिव गोपाल खरेलले बताउनुभयो ।
उहाँका अनुसार कुनै शव ४५ देखि ५० मिनेटमै जले पनि कुनैलाई एकदेखि डेढ घण्टासम्म लागेको थियो । प्राविधिक परीक्षणपछि विद्युत्को भोल्टेजमा समस्या देखिएको र त्यसलाई नियमित बनाउन करिब सात लाख रुपैयाँको स्टेपलाइजर आवश्यक पर्ने देखिएको छ ।
तर, घाट सञ्चालनबाट आम्दानी सुनिश्चित नभएको र आर्थिक स्रोतको अभाव रहेकाले स्टेपलाइजर जडानको खर्च घाट समितिले व्यहोर्न नसक्ने जनाएको छ ।
कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले निर्माण सम्पन्न हुँदैमा हतारमा शवदाह गृहको जिम्मेवारी नलिने बताउनुभएको छ । उहाँले प्रदेश मन्त्रालयसँग हस्तान्तरणका विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।
नगरप्रमुख पोखरेलका अनुसार दाउरामा भन्दा विद्युतीय प्रणालीबाट शव दहन गर्न ढिलो र झन्झटिलो हुने अवस्था आएमा त्यसले जनतामा सकारात्मक सन्देश नदिने भएकाले सम्पूर्ण प्राविधिक तयारी पूरा भएपछि मात्र नगरपालिकाले जिम्मेवारी लिनेछ ।
दाउराको खपत घटाउने र वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएको पूर्वाधार सरकारी निकायबीचको समन्वय अभावका कारण सञ्चालनमा आउन नसकेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । ०००००
 

प्रतिकृया दिनुहोस