इरानमा विदेशी नागरिकलाई मृत्युदण्ड 

इरान, ४ भदौ ।
इरानले जनवरीमा भएको सरकारविरोधी प्रदर्शनका क्रममा चार प्रहरी अधिकारीको हत्या गरेको अभियोगमा एक विदेशी नागरिकलाई आज मृत्युदण्ड दिएको छ ।
इरानी न्यायपालिकाको मिजान अनलाइनका अनुसार घेम हुसेनीलाई मुद्दा पुनरावलोकनपछि सर्वोच्च अदालतले मृत्युदण्डको सजाय कायम राखेपछि फाँसी दिइएको हो । उनको राष्ट्रियता भने सार्वजनिक गरिएको छैन ।
मध्य इस्फहान प्रान्तमा प्रहरी अधिकारीको मृत्यु भएको घटनामा संलग्न भएको अभियोगमा हुसेनीलाई हतियार प्रयोग गरी भय र आतङ्क फैलाएको, असुरक्षा सिर्जना गरेको तथा सार्वजनिक व्यवस्था र राष्ट्रिय सुरक्षामा गम्भीर क्षति पु¥याएको आरोप लगाइएको थियो ।
इरानले यही घटनासँग सम्बन्धित अभियोगमा गत जुलाईयता अन्य चार जनालाई पनि मृत्युदण्ड दिइसकेको छ । जीवनयापनको बढ्दो लागतविरुद्ध सुरु भएको प्रदर्शन पछि व्यापक सरकारविरोधी आन्दोलनमा परिणत भएको र त्यस क्रममा तीन हजारभन्दा बढी मानिसको मृत्यु भएको इरानी अधिकारीहरूले बताएका छन् ।
नर्वेस्थित इरान ह्युमन राइट्स र पेरिसस्थित टुगेदर अगेन्स्ट द डेथ पेनाल्टीका अनुसार इरानले गत वर्ष कम्तीमा एक हजार ६३९ जनालाई मृत्युदण्ड दिएको थियो । यो सन् १९८९ यताकै उच्च सङ्ख्या भएको ती संस्थाहरूको दाबी छ ।
एम्नेस्टी इन्टरनेसनलका अनुसार चीनपछि इरान विश्वमा सबैभन्दा बढी मृत्युदण्ड दिने मुलुक हो । ०००००
 

प्रतिकृया दिनुहोस