अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.५ प्रतिशत पुग्यो

अस्ट्रेलिया, ४ भदौ ।
अस्ट्रेलियामा बेरोजगारी दर जुलाईमा बढेर ४.५ प्रतिशत पुगेको छ ।
बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार अर्थशास्त्रीहरूले बेरोजगारी दर ४.४ प्रतिशतमा स्थिर रहने अनुमान गरेका थिए । तर, रोजगारी घटेसँगै बेरोजगारी बढेर ४.५ प्रतिशत पुगेको हो ।
अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सका अनुसार जुनदेखि जुलाईसम्म रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या १५ हजार आठ सयले घटेको छ भने बेरोजगारको सङ्ख्या चार हजार दुई सयले बढेको छ ।
जुलाईको बेरोजगारी दर सन् २०२१ को नोभेम्बरपछि उच्चमध्ये एक हो । यस अवधिमा पुरुषको रोजगारी ११ हजार र महिलाको रोजगारी पाँच हजारले घटेको तथ्याङ्कले देखाएको छ ।
आंशिक समय काम गर्ने महिलाको सङ्ख्या २२ हजारले घटे पनि पूर्ण समय काम गर्ने महिलाको सङ्ख्या १७ हजारले बढेको छ ।
यस्तै, कुल काम गर्ने समय शून्य दशमलव ६ प्रतिशतले घटेर एक अर्ब ९९ करोड घण्टामा झरेको छ । काम गर्ने उमेर समूहको श्रम सहभागिता दर पनि जुनको ६७ प्रतिशतबाट घटेर जुलाईमा ६६ दशमलव ९ प्रतिशतमा पुगेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सले जनाएको छ । ०००००
 

प्रतिकृया दिनुहोस