आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस
विर्तामोड, ५ भदौ ।
आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार संरक्षणका लागि आज विश्वभर ‘आतङ्कवादका पीडितको सम्झना र सम्मानको अन्तरराष्ट्रिय दिवस’ मनाइँदैछ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१७ मा आतङ्कवादका पीडित तथा बाँचेकालाई सम्मान र सहयोग गर्दै उनीहरूको मानव अधिकार तथा मौलिक स्वतन्त्रताको पूर्ण उपभोग सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष अगस्ट २१ मा यो दिवस मनाउने निर्णय गरेको थियो ।
संयुक्त राष्ट्रसङ्घले आतङ्कवादका पीडितलाई सहयोग गर्न अन्तरराष्ट्रिय सहकार्य बढाउनुपर्नेमा जोड दिँदै आएको छ । सदस्य राष्ट्रहरूले आतङ्कवाद तथा हिंसात्मक अतिवाद रोकथामसँगै पीडितको मानव अधिकार संरक्षणमा समेत ध्यान दिनुपर्नेमा जोड दिँदै आएका छन् ।
पछिल्ला वर्षहरूमा पीडितप्रतिको सहयोग औपचारिक ऐक्यबद्धतामा मात्र सीमित नरही उनीहरूको अधिकार र आवश्यकतालाई सम्बोधन गर्ने दिशामा अघि बढेको राष्ट्रसङ्घले जनाएको छ । सन् २०१९ मा ‘ग्रुप अफ फ्रेन्ड्स अफ भिक्टिम्स अफ टेरोरिजम’ स्थापना हुनु र पीडितलाई सहयोगसम्बन्धी महासभाको प्रस्ताव पारित हुनु यसका महत्वपूर्ण प्रयास मानिएका छन् ।
सन् २०२३ मा पारित महासभाको प्रस्तावले विशेषगरी महिला, बालबालिका तथा आतङ्कवादीबाट हुने यौन र लैङ्गिक हिंसाबाट प्रभावितको अधिकार संरक्षणमा जोड दिएको छ । साथै, पीडित तथा उनीहरूका परिवारका तत्कालीन, अल्पकालीन र दीर्घकालीन आवश्यकता सम्बोधन गर्न राष्ट्रियस्तरमा समग्र सहायता योजना बनाउन सदस्य राष्ट्रलाई प्रोत्साहन गरेको छ ।
संयुक्त राष्ट्रसङ्घले सन् २०२२ मा पहिलो विश्वव्यापी आतङ्कवाद पीडित सम्मेलन आयोजना गरेको थियो । राष्ट्रसङ्घीय आतङ्कवादप्रतिरोध कार्यालयले पीडित सहायता कार्यक्रम तथा विभिन्न पहलमार्फत उनीहरूको अधिकार र आवश्यकताबारे जनचेतना अभिवृद्धि गर्दै आएको छ । ०००००












प्रतिकृया दिनुहोस