भारतमा १० लाख मेट्रिक टनसम्म चिनीको कच्चा पदार्थ आयात गर्न स्वीकृति 

भारत, ५ भदौ ।
भारतले चिनीको मूल्य नियन्त्रण गर्न १० लाख मेट्रिक टनसम्म कच्चा चिनी भन्साररहित आयात गर्न स्वीकृति दिएको छ । चाडपर्वको मौसम नजिकिँदै गर्दा आन्तरिक बजारमा चिनीको मूल्य बढ्न थालेपछि सरकारले यस्तो निर्णय गरेको हो ।
भारतको सङ्घीय वाणिज्य मन्त्रालयका अनुसार ‘ट्यारिफ रेट कोटा’ अन्तर्गत अक्टोबर ३१ सम्म १० लाख मेट्रिक टनसम्म कच्चा चिनी भन्साररहित आयात गर्न पाइनेछ ।
स्थानीय बजारमा कच्चा चिनीको आपूर्तिमा कमी हुनसक्ने चिन्ताका बीच सरकारले आयातमा कर घटाउने निर्णय गरेको हो । यस वर्ष कमजोर मनसुनको सम्भावनाले चिनी उत्पादन प्रभावित हुनसक्ने अनुमान गरिएको छ ।
चिनी उत्पादन घट्नसक्ने चिन्ताका कारण भारतीय बजारमा मूल्य उच्च बिन्दुमा पुगेका बेला सरकारले आपूर्ति बढाएर मूल्य नियन्त्रण गर्न यो कदम चालेको जनाएको छ ।
भारतमा सेप्टेम्बरदेखि जनवरीसम्म चिनीको खपत बढ्ने गर्छ । विशेषगरी चाडपर्वका समयमा मिठाई तथा अन्य मिठासयुक्त परिकारको माग बढ्ने भएकाले चिनीको खपत पनि बढ्ने गरेको हो ।
आन्तरिक आपूर्ति सुनिश्चित गर्न भारतले यसअघि गत मे महिनामा चिनी निर्यातमा प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्ध आगामी सेप्टेम्बर ३० सम्म कायम रहने जनाइएको छ । ०००००
 

प्रतिकृया दिनुहोस